काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन) मन्त्रिपरिषदमा अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले निश्चित भएका छन्। शुक्रबार प्रधानमन्त्रीको रुपमा बालेनले शपथसँगै मन्त्रिपरिषद् विस्तार हुँदा वाग्ले अर्थमन्त्री बन्ने निश्चित भएको हो।
यद्यपि, मन्त्रीहरुको शपथ शुक्रबार हुने वा अर्को दिन सारिनेबारे भने रास्वपाले पुष्टि गरेको छैन। तर, अर्थमन्त्रीका रुपमा डा. वाग्ले निश्चित भएपछि अर्थ मन्त्रालयका कर्मचारीसँग समन्वय गरेर अनौपचारिक रुपमा काम भइरहेका छन्।
अर्थ मन्त्रालय स्रोतका अनुसार चैत ३० (अप्रिल १३ देखि १८) वैशाख ५ गतेसम्म अमेरिकाको वासिङ्टन डिसीमा हुने अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) र विश्व बैंक समूह(डब्लुबीजी)को संयुक्त आयोजनामा हुने स्प्रीङ मिटिङमा भाग लिन जाने चाँजोपाँजो मिलाउन निर्देशन दिइसकेका छन्।
यसअघि स्प्रीङ मिटिङमा अर्थ मन्त्रालयका सहसचिव जाने गरे पनि यसपटक करिब दुई तिहाइको नयाँ सरकार गठन भएको र कूटनीतिक सम्बन्ध सुधार गर्नुपर्ने भएकाले अर्थमन्त्री कार्यक्रममा सहभागी हुन चाहेको स्रोतको भनाइ छ।
सामान्यतया यसअघि स्प्रीङ मिटिङमा अर्थ मन्त्रालयका सहसचिव जाने गर्थे। तर, यसपटक करिब दुई तिहाइको नयाँ सरकार गठन भएको र कूटनीतिक सम्बन्ध सुधार गर्नुपर्ने भएकाले अर्थमन्त्री कार्यक्रममा सहभागी हुन चाहेको स्रोतको भनाइ छ।
‘अर्थमन्त्री निश्चित भएकाले म पनि सो मिटिङमा सहभागी हुन जानेछु। त्यहीअनुसारले आवश्यक व्यवस्थापन गर्नू,’ अर्थ मन्त्रालयका एक उच्च अधिकारीले वाग्लेको भनाई उद्धृत गर्दै भने, ‘हामीले अब सोहीअनुसारको जानकारी गराएर आवश्यक व्यवस्थापनमा लाग्नेछौं।’
अर्थमन्त्री निश्चित भएको भन्दै अर्थ मन्त्रालयमा मात्र नभएर डा. वाग्लेको सचिवालयले केही उद्योगी व्यवसायीलाई समेत टेलिफोनमार्फत समस्याबारे जानकारी लिइरहेको छ। सम्भवतः पहिलो मन्त्रिपरिषद् बैठकबाट महत्त्वपूर्ण निर्णय गर्ने तयारी भइरहेकाले पनि निजी क्षेत्रलाई सहज बनाउन आवश्यक सल्लाह र सुझाव लिइरहेको बताइन्छ।
रास्वपा उपसभापतिसमेत रहेका डा. वाग्ले अर्थसम्बन्धी विषयविज्ञ भएकले पनि उनको नाममा बालेनले समेत सहमत जनाएका छन्। बालेनले आफ्नो टिममा बन्ने मन्त्रीहरु सकेसम्म विष विज्ञताको आधारमा छनोट गर्ने चाहना राखेकोले अर्थमन्त्रीको रुपमा निर्विकल्प डा. वाग्लेको नाम रहेको बताइन्छ।