काठमाडाैं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघय संरचना महासन्धिको पक्ष राष्ट्रको २७औं सम्मेलन (कोप–२७) राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा उपलब्धिमूलक भएको सरोकारवाला विज्ञहरूले बताएका छन् । कोप–२७ सम्मेलन इजिप्टको शार्म एल–शेखमा यही नोभेम्बर ६ देखि १८ तारिखसम्म भएको थियो ।
वन तथा वातावरण मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘कोप–२७ सम्मेलनका उपलब्धि र अबको बाटो’ विषयक कार्यक्रममा उहाँहरूले नेपालले प्राथमिकताका साथ उठाएका विषयले औपचारिकता पाएको अवगत गराए ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सम्मेलनमा सहभागी सरकारी तथा गैरसरकारी निकायका अधिकारीहरूले आफ्ना अनुभवसमेत सुनाएका थिए।
कार्यक्रममा राष्ट्रियसभाको दिगो विकास समितिका सभापति प्रकाश पन्थले सम्मेलनका उपलब्धिलाई कार्यान्वयन गर्न सबै लाग्नुपर्ने बताउँदै नीतिगत समस्या देखिएमा त्यसको समाधानका लागि आफू सदैव तयार रहेको उल्लेख गरे ।
राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंहले सम्मेलनमा सहभागी सबैको सक्रियताले सम्मेलन उपलब्धिमूलक भएको उल्लेख गर्दै सम्मेलनका सबै सत्र, वार्ता र छलफलमा सरकारसँगै नागरिक संस्थाका अधिकारीको भूमिका पनि महत्वपूर्ण रहेको बताए ।
वन मन्त्रालयका सचिव डा पेमनारायण कँडेलले नेपालले प्राथमिकताका साथ उठाएका विषय जलवायुजन्य हानि–नोक्सानीको क्षतिपूर्ति, अनुकूलन सहयोग वृद्धि, कार्बन उत्सर्जन घटाउने, पर्वतीयलगायत विषयमा प्राप्त उपलब्धिले सम्मेलन राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा सफल भएको दाबी गरे ।
योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले सम्मेलनमा भएका सहमति र उपलब्धिलाई विषयगतरूपमा बाँडफाँट गरी कार्यान्वयनमा ध्यान केन्द्रित गर्न लाग्नुपर्ने धारणा व्यक्त गरे ।
जल तथा ऊर्जा आयोगका सचिव सुशीलचन्द्र तिवारीले सम्मेलन हरेक दृष्टिकोणले उत्कृष्ट भएको बताउँदै सम्मेलनका उपलब्धि र यसअघि गरिएका प्रतिबद्धता कार्यान्वयनमा जोड दिए ।
कार्यक्रममा मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव डा बुद्धिसागर पौडेलले कोप–२७ सम्मेलनमा गरिएका तयारी, प्रक्रिया र उपलब्धिका बारेमा जानकारी गराउँदै आगामी दिनमा गर्नुपर्ने कामका बारेमा सुझाव प्रस्तुतीकरण गरेका थिए।