काठमाडौं। मन्त्रिपरिषद्को आइतबारको बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई मध्यनजर गर्दै साताको दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने र कार्यालय समय बिहान ९ देखि बेलुका ५ बजेसम्म कायम गर्ने महत्वपूर्ण निर्णय गरेको छ। सरकारको यो निर्णय भोलि चैत २३ गतेदेखि नै लागू हुने भएपछि बैंकिङ क्षेत्रमा यसको प्रभाव कस्तो रहला भन्ने चासो बढेको छ।
विशेषगरी नेपाल राष्ट्र बैंक, कृषि विकास बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक सरकारी स्वामित्वका निकाय भएकाले यी संस्थाहरूमा आइतबार स्वतः बिदा हुनेछ। बैंक तथा वित्तीय संस्थाहरको नियामक निकाय राष्ट्र बैंक नै बिदा हुँदा अन्य निजी क्षेत्रका बैंकहरु पनि बिदा हुने प्रवक्ता गुरु प्रसाद पौडेल बताउँछन्।
‘सरकारले सातामा २ दिन बिदा भनेपछि राष्ट्र बैंक बिदा हुन्छ र अन्य निजी क्षेत्रका बैंकको हकमा भने एकिकृत निर्देशनको कार्यालय सम्बन्धी व्यवस्थाअनुसार राष्ट्र बैंक बिदा हुँदा उनीहरु पनि बिदा हुन्छ तर, उनीहरुले अतिरिक्त सेवा दिनका लागि बैंक खोल्छौं भन्न पाउँछन्।’–राष्ट्र बैंक प्रवक्ता पौडेलले क्यापिटल नेपालसँग भने।
एकिकृत निर्देशनको १४ नम्बर निर्देशनको बुँदानम्बर ३ मा कार्यालय समय सम्बन्धिी व्यवस्थामा भनिएको छ, –‘नेपाल राष्ट्र बैंक खुलेको दिन तथा यस बैंकको बैकिङ कार्यालयले बैकिङ कारोवार गर्ने समयसम्म इजाजतपत्रप्राप्त संस्थाहरुले अनिवार्य रुपमा आफ्नो कार्यालय खोली बैकिङ कारोवार सञ्चालन गर्नु पर्नेछ। तर, इजाजतपत्रप्राप्त संस्थाहरुले नेपाल राष्ट्र बैंक खुलेको दिन र समयका अतिरिक्त समय तथा अन्य विदाका दिन र समयमा आफ्नो कारोबार सञ्चालन गर्ने भएमा यस बैकको बंैक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागमा लिखित रुपमा जानकारी दिनुपर्नेछ।’
यस बैंकबाट जारी भएको बैंक बिदाको सूचीका अतिरिक्त नेपाल सरकारबाट आकस्मिक बिदा घोषणा भएको दिन नगद कारोबार, चेक क्लियरिंग, आरटिजिएस लगायत अत्यावश्यक बैंकिंग सेवा प्रदान गर्न विहान १०ः०० देखि दिउसो १ः३० बजेसम्म इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउनुपर्ने निर्देशनमा उल्लेख छ। सोही अनुसार राष्ट्र बैंकले पनि बैंकिङ विभाग, भुक्तानी प्रणाली विभाग र मौद्रिक व्यवस्थापन विभागका सम्बन्धित युनिटका कर्मचारी आलोपालो गरेर आवश्यक काम गर्ने व्यवस्था मिलाउँने पौडेलले बताए।
यसअघि २०७९ सालमा पनि सरकारले केही समय सातामा २ दिन बिदा गराएको थियो। उक्त अभ्यास र बैंकिङ प्रणालीको प्रकृतिलाई हेर्दा निजी क्षेत्रका बैंकहरूले पनि सरकार र राष्ट्र बैंकको निर्णयलाई नै पछ्याउँदै बैंक बिदा गरेका थिए। राष्ट्र बैंकले यसअघि पनि सरकारको दुई दिने बिदाको निर्णयलाई कार्यान्वयन गर्न सर्कुलर जारी गरेको थियो, जसले गर्दा निजी बैंकहरू पनि आइतबार बन्द भएका थिए।
राष्ट्र बैंकको सर्कुलर आएपछि बैंकहरुको सातामा २ दिन बिदाबारे प्रष्ट हुने नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला बताउँछन्। तर, अहिले भने राष्ट्र बैंकले बैंक आइतबार बिदा गराउँ भनेर निश्चित सर्कुलर जारी नगर्ने तर, कार्यालय समयको हकमा प्रष्ट पार्न भने परिपत्र जारी गर्ने तयारी गरेको प्रवक्ता पौडेलले बताए।
विगतमा पनि परीक्षणका रूपमा साताको दुई दिन बिदा दिँदा राष्ट्र बैंकले सबै वित्तीय संस्थाहरूलाई शनिबार र आइतबार सार्वजनिक बिदा दिन निर्देशन दिएको थियो। बैंकिङ कारोबार अन्तरसम्बन्धित हुने भएकाले सरकारी बैंक खुल्ने र निजी बन्द हुने वा निजी खुल्ने र सरकारी बन्द हुने अवस्था रहँदैन। क्लियरिङ हाउस, आरटिजीएस र अन्तर–बैंक कारोबारका लागि केन्द्रीय बैंक र सरकारी बैंकहरूको सञ्चालन अनिवार्य हुने भएकाले केही सिमित बैंकिङ सेवा बिदाका दिन पनि खुल्ला हुन्छन्।
सरकारले यो निर्णय गर्नुको मुख्य कारण पेट्रोलियम पदार्थको बढ्दो खपतलाई कम गर्नु हो। बैंकहरूका हजारौँ कर्मचारी र सयौँ गाडीहरू आइतबार नचल्दा इन्धनमा ठूलो बचत हुने अपेक्षा गरिएको छ। साथै, बैंकहरूले आइतबार कार्यालय नखोल्दा बिजुली, पानी र अन्य प्रशासनिक खर्चमा समेत कटौती हुने संघका अध्यक्ष कोइराला बताउँछन्। ‘सरकारको यो निणर्यले बैंकको ठुलो प्रसाशनिक खर्च कटौती हुन्छ भने, डिजिटल भुक्तानी बढ्छ, यसलाई बैंकिङ क्षेत्रले स्वागतयोग्य मानेको छ,–संघ अध्यक्ष कोइरालाले भने।
हप्ताको दुई दिन बैंकको काउन्टर सेवा बन्द हुँदा ग्राहकहरू डिजिटल बैंकिङतर्फ अझ बढी आकर्षित हुने देखिन्छ। मोबाइल बैंकिङ, इन्टरनेट बैिनेकङ, कनेक्ट आइपीएस र एटिएम सेवाहरू २४सै घण्टा सञ्चालनमा रहने हुँदा सर्वसाधारणलाई नगद झिक्न र पैसा पठाउन समस्या हुने छैन। यद्यपि, चेक क्लियरिङ र ठूला कर्जा प्रवाहका कामहरू भने अब हप्ताको पाँच दिनमा मात्रै सीमित हुनेछन्।
यद्दपि, आइतबार बिदा हुँदा सोमबार बैंकहरूमा ग्राहकको चाप अत्यधिक बढ्ने चुनौती भने सधैँ रहिआएको छ। तर, बिहान ९ बजेदेखि नै बैंक खुल्ने भएपछि उक्त चापलाई व्यवस्थापन गर्न सहज हुने संघ अध्यक्ष कोइरालाको बुझाइ छ।सरकारको यो कदमले एकातिर इन्धनको वैदेशिक मुद्रा बाहिरिनबाट जोगाउनेछ भने अर्कोतिर कर्मचारीहरूको कार्यक्षमता र पारिवारिक सन्तुलनमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास उनको छ।