काठमाडौं। भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने निर्णय गरेको छ।
पेट्रोलियम पदार्थ बिक्रीमा एकछत्र राज गर्दै आएको सरकारी स्वामित्वको आयल निगमले हाल २७ अर्ब रुपैयाँ घाटामा रहेको भन्दै मूल्य समायोजन नगर्ने निर्णय गरेको हो।
अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि नोक्सानीमा सञ्चालन हुँदै आएको भन्दै निगमले इन्डियन आयल कर्पोरेसन लिमिटेडबाट मंसिर १५ मा प्राप्त खरिद मूल्यअनुसार एलपी ग्यासको मूल्य केही बढे पनि त्यसलाई यहाँ थप नबढाउने तर घटेर आएको पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलको भाउ भने यथावत राख्ने जनाएको छ।
निगमले यस्तो निर्णय पहिलोपटक गरेको भने होइन। यसअघि धेरैपटक भारतबाट भाउ घटेर आए पनि यता मूल्य समायोजन गरेको छैन। निगमले सधैं घाटा छ भन्दै मूल्य समायोजन गरेको छैन। तर, इन्डियन आयलले अन्तर्राष्ट्रिय बजारअनुसार पठाउने पेट्रोलियम पदार्थको भाउ यहाँ सोहीअनुसार समायोजन गर्ने आयल निगमको पुरानो वाचा हावादारी साबित भएको धेरै भइसकेको छ।
निगमले के चलाखी गर्दै आएको छ भने, भारतबाट भाउ बढेर आएका बेला यहाँ पनि तुरुन्तै बढाइदिने तर घटेर आएका बेला समायोजन नगर्ने। अनि, किन समायोजन नगरेको भन्दा ‘हामी अर्बौं घाटामा छौं त्यही भएर नघटाएको’ भन्ने कुतर्क गर्दै आएको छ।
उपभोक्ताले चाहेको यतिमात्र हो– भारतबाट भाउ बढेर आउँदा यहाँ बढोस् तर घटेर आउँदा यहाँ पनि पेट्रोलियम पदार्थको भाउ घटोस्। र, अर्को गम्भीर कुरा के हो भने पेट्रोलियम पदार्थमा सरकारले लिँदै आएका अनेकथरी कर व्यापकट कटौती होस् भन्ने उपभोक्ताको माग अझै जीवितै छ।