काठमाडौं। होटल व्यवसायी महासंघ नेपालको नयाँ नेतृत्वका लागि बहस सुरु भएको छ। चैत २७ र २८ गते पर्यटकीय नगरी पोखरामा १३ औँ साधारण सभा तथा ५ औँ अधिवेशन हुन गहिरहेको छ। महासंघको वर्तमान कार्य समितिका वरिष्ठ उपाध्यक्ष शेरबहादुर थापाले आगामी कार्यकालका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
लामो समयदेखि संस्थागत विकास र व्यवसायीको हकहितका लागि सक्रिय रहँदै आएका छन्। वरिष्ठ उपाध्यक्ष भइसकेको र संस्थाको सांगठनिक संरचनामा लामो अनुभव भएकाले उनको अध्यक्ष पदको उम्मेदवारीलाई व्यवसायीहरूले स्वाभाविक र न्यायोचित रूपमा लिएका छन्।
विं.सं. २०५२ सालदेखि व्यवसायमा प्रत्यक्ष आबद्ध थापा एक सफल पर्यटन व्यवसायी हुन्। उनीसँग महासंघमा विभिन्न तहमा रहेर काम गरेको लामो अनुभव छ। महासंघमा एक कार्यकाल सल्लाहकार, एक कार्यकाल उपमहासचिव भएर काम गरिसकेका छन्। होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशको संस्थापक सल्लाहकार, जिल्ला होटल व्यवसायी संघको सल्लाहकार लगायतको अनुभव पनि उनीसँग छ।
नेपाली होटल व्यवसायी संघमा दुई कार्यकाल कोषाध्यक्ष र एक कार्यकाल अध्यक्ष भएर काम गरिसकेको अनुभव पनि उनीसँग छ। उनी उक्त संस्थामा हाल संरक्षकको जिम्मेवारीमा छन्। व्यावसायिक क्षेत्रका साथै उनी शैक्षिक र सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन्। थापा २०५३ सालमा मिलन टोल सुधार समाजको संस्थापक अध्यक्ष थिए।
हाल ग्रिनफिल्ड एजुकेसन फाउन्डेसन बाफल र कखरा मन्टेश्वरीको अध्यक्ष तथा तनहुँ मगर संघको सल्लाहकारको जिम्मेवारी पनि सम्हालिरहेका छन्। देशभरका होटल व्यवसायीहरूमाझ थापा एक मिलनसार र इमानदार व्यक्तित्वका रूपमा चिनिन्छन्।
कामलाई नै मुख्य जिम्मेवारी र धर्म ठान्ने उनको कार्यशैलीका कारण सबै सदस्यसँग उनको सम्बन्ध सुमधुर रहेको बताइन्छ। देशभरका व्यवसायीहरूको भावना बुझ्न सक्ने र समस्या समाधानमा खरो उत्रन सक्ने नेतृत्वका रुपमा थापालाई हेरिएको छ।