काठमाडौं। युएईमा रहेका नेपालीलाई लक्ष्य गरी इसेवा मनी ट्रान्स्फर र लुलु एक्सचेन्जले ‘मेरो डिजिटल देश’ अभियान सुरू गरेका छन्। नेपालीलाई डिजिटल माध्यमबाट पैसा पठाउन प्राेत्साहन गर्ने उद्देश्यले विश्वव्यापी प्रयाेग बढाउन अभियान सुरू गरेका हुन्।
‘मेरो डिजिटल देश’ लाई प्रवर्द्धन गर्न लुलु एक्सचेन्ज र इसेवा मनी ट्रान्सफरको निमन्त्रणामा नेपाली चलचित्रका महानायक राजेश हमाल दुईदिने भ्रमणका लागि युएई पुगेका थिए।
हमालले लुलु एक्सचेन्जको शाखा आउटलेटहरू बाहेक, बुर दुबई, जेबेल अली शपर्स मल, मदिनत जायद र शाबिया मल्ललगायत धेरै आवास शिविरहरूको भ्रमण गरेको बताए। हमाल, लुलु एक्सचेन्ज र इसेवा मनी ट्रान्सफरका वरिष्ठ अधिकारी तथा युएईका लागि नेपाली राजदूत कृष्ण ढकालबीच भेटवार्ता भएको थियो।
भेटवार्तामा लुलु एक्सचेन्जका डीजीएम शफिज फजेल, एफ१ सफ्ट नेपालका निर्देशक ड्यानियल डी श्रेष्ठ र इसेवा मनी ट्रान्सफर नेपालका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाको पनि उपस्थिति रहेको थियो।
नेपालका एक्सचेन्ज हाउसहरू, पे–आउट रेमिट्यान्स कम्पनीहरू र नेपाली दूतावासलगायत क्रसबोर्डर रेमिट्यान्स इकोसिस्टमका सरोकारवालाले औपचारिक रेमिट्यान्स सञ्चालन गर्न र युएईमा अवैध च्यानलहरूमार्फत पैसा हस्तान्तरणलाई निरुत्साहित गर्न विषयमा छलफल गरेका छन्।
इसेवा मनी ट्रान्स्फरको मेरो डिजिटल देश नामक ६ महिने अभियान मार्च २०२३ मा सकिँदैछ। कम्पन्नीका अनुसार युएईमा रहेका नेपालीहरु जसले नेपालमा रहेको आफ्नो बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँछन् उनीहरू अभियानमा सहभागी हुन पाउने छन्।
६ महिनासम्म हरेक महिना एक जना ग्राहकले आकर्षक पुरस्कार पाउनुका साथै अभियान अवधिभर अर्का एक जना ग्राहकले काठमाडौं उपत्यकामा उपहार स्वरुप एउटा घर पाउने कम्पनीले जनाएको छ।