काठमाडाैं। प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकका ठूला साना सबै नगरलाई दिगो र हरित विकासको अवधारणाबाट अघि बढाउनुपर्ने खाँचो औंल्याएका छन्।
नेपाल नगरपालिका संघकाे आठौँ राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहमा साेमबार उनले अधिकांश नगरपालिका अव्यवस्थित सहरीकरणबाट गुज्रिरहेकाे बताए। प्रधानमन्त्री देउवाले यसले एकातिर नगरको प्राकृतिक सौन्दर्य र मौलिकतामा आघात पुगिरहेको र अर्कोतिर सहरहरू दिनानुदिन असुरक्षित र अस्वच्छ आवास क्षेत्रको रूपमा परिणत भइरहेको बताए।
उनले भने, 'अब राजधानी सहर काठमाडौंदेखि मुलुकका ठूला साना सबै नगरलाई दिगो र हरित विकासको अवधारणाबाट अघि बढाउनुपर्ने र सहरलाई आर्थिक विकासको केन्द्रको रूपमासमेत विकास गर्नुपर्ने खाँचो छ। यस कार्यमा सहयोगी भूमिका निर्वाह गर्न नेपाल म नगरपालिका संघलाई आग्रह गर्न चाहन्छु।'
विसं २०५० मा सम्पूर्ण नगरपालिकाको प्रतिनिधिमूलक संस्थाको रूपमा स्थापित संघले स्थापनाकालदेखि नगरपालिकालाई अधिकार सम्पन्न बनाउन र सशक्त जनप्रतिनिधिमूलक निकायको रूपमा विकास गर्न महत्वपूर्ण योगदान गर्दै आइरहेको छ। संघले नगरपालिकालाई पर्याप्त कानुनी अधिकार सुनिश्चित गर्नदेखि नगरपालिकाको व्यवस्थित विकास र क्षमता अभिवृद्धिका क्षेत्रमा समेत एउटा जीवन्त संस्थाकोरूपमा कार्य गर्दै आएको उनले उल्लेख गरे।
प्रधानमन्त्री देउवाले मुलुकमा तीन तहको संघीय शासन प्रणाली लागू भएसँगै संविधानले स्थानीय तह खासगरी नगरपालिकालाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा विभिन्न महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको बताए।
'स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला र जनताको घरआँगनको सरकार भएकोले नगरपालिका तथा गाउँपालिकाले आफ्नो कामकारबाहीलाई समयको गतिसँगै थप चुस्त, पारदर्शी र सूचना प्रविधियुक्त बनाउँदै जिम्मेवारी बोधका साथ अघि बढ्न आवश्यक छ,' उनले भने।
नागरिकको नजिकैको सरकार स्थानीय तह भएकाले नगरपालिका तथा गाउँपालिकासँग नागरिकको अपेक्षा धेरै हुनु स्वभाविक भएको बताउँदै प्रधानमन्त्री देउवाले जनताको अपेक्षा र आवश्यकतालाई उचित सम्बोधन हुने गरी स्थानीय स्रोत र साधनको समुचित परिचालन गर्दै स्थानीय जनप्रतिनिधिले जनताप्रतिको आफ्नो दायित्व र जवाफदेहितालाई कुशलतासाथ निर्वाह गर्नसक्नुपर्नेमा जोड दिए।