काठमाडौं। नेपाल इकनोमिक्स ओलम्पियाडको चौथो संस्करणबाट अन्तर्राष्ट्रिय इकनोमिक्स ओलम्पियाडमा भाग लिने विद्यार्थीको टुंगो लागेको छ। ललितपुरमा सम्पन्न राष्ट्रिय प्रतिस्पर्धामा गोल्ड मेडल विजेता पाँच जना विद्यार्थी अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि छानिएका हुन्।
लिटिल एन्जल्स कलेजका प्रयुश यादव, बूढानीलकण्ठ स्कुलका भार्गभ चौटत र भिक्टर हमाल, सेन्ट जेभियर कलेजका अनुभव ढुंगाना र ट्रिनिटी कलेजका मयंक शंकर झा छानिएको नियोले जानकारी दिएको छ।
साे कार्यक्रममा पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले अहिलेको समय आर्टिफिसियल इन्टिलिजेन्स (एआई)को भएको भन्दै च्याट जिपिटीका कारण अध्ययन अनुसन्धानदेखि अध्यापनसम्मको ट्रेन्ड परिवर्तन हुनसक्ने बताए ।
नबिल बैंकका डेपुटी सिइओ मनोज ज्ञावलीले यस्ता कार्यक्रममा सफल व्यक्तिलाई भन्दा पनि असफलताको कथा भएका व्यक्तिलाई ल्याउनुपर्ने धारणा राखे।
काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार डा. अच्युत वाग्लेले मेडिकल साइन्सले नयाँ-नयाँ औषधि पत्ता लगाएजस्तै अर्थशास्त्रीले अर्थतन्त्रको समस्या समाधान गर्ने उपाय पत्ता लगाउनुपर्ने बताए।
उनले सम्भावना भएका प्रतिभाशाली व्यक्तिहरू बाहिरै बस्ने हो भने यो देश कहिल्यै पनि विकसित नहुने भन्दै प्रतिभावान विद्यार्थीहरू पढ्नको लागि जहाँ गएपनि फर्केर नेपालमै आउन आग्रह गरे।
कसैको असफलताको कथा सुन्नै नचाहने हो भने उ कसरी दलदलमा फस्यो भनेर थाहा नहुने भन्दै कहाँ कति चुनौती छन् भन्ने कुरा जान्नका लागि पनि असफलताका कथा सुन्नुपर्ने उनको भनाइ थियो।
स्टक ब्रोकर एसाेसिएसन अफ नेपाल (एसबान)का अध्यक्ष धर्मराज सापकोटाले नेपालको अर्थतन्त्र, सेयर बजार र वित्तीय साक्षरताको बारेमा अन्तर्राष्ट्रिय मञ्चमा बोल्न आग्रह गरे।
प्लस टु तहमा व्यवस्थापन संकाय अध्ययनरत ८० जना विद्यार्थीको सहभागीता रहेको उक्त कार्यक्रमबाट अन्तर्राष्ट्रिय ओलम्पियाडका लागि ५ जना विद्यार्थी छानिएका हुन्।
क्षेत्रीय प्रतिस्पर्धामा देशभरका १ सय ६२ कलेजका १ हजारभन्दा धेरै विद्यार्थी सहभागी भएकोमा उत्कृष्ट ७५ जना विद्यार्थी राष्ट्रिय ओलम्पियाडका लागि छानिएका थिए। सिधै छानिएका पाँच जनासहित ८० जना विद्यार्थीहले राष्ट्रिय प्रतिस्पर्धा गरेका थिए।
सहभागीहरूले बिजनेस केश एनलाइसिस, सिमुलेशन र अर्थशास्त्र विषयसँग सम्बन्धित प्रश्न समेटिएको ३ घण्टाको लिखित परीक्षा दिएका थिए। त्यहाँबाट उत्कृष्ट भएका पाँच जनाले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिने मौका पाएका हुन्।
यस अघिका अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अन्तिम तीन स्थानसम्म हाँसिल गर्दै आएकोमा यसपाली भने आयोजकले गोल्ड मेडल जित्ने लक्ष्य लिएको नियोका साझेदारी निर्देशक दीपक भण्डारीले बताए। कार्यक्रममा अन्तर्राष्ट्रिय ओलम्पियाडमा तेस्रो र अन्तर्राष्ट्रिय बिजेनस ओलम्पियाडमा पहिलो भएका विद्यार्थीलाई पनि सम्मान गरिएको थियो।