ललितपुर। ललितपुरको महालक्ष्मी नगरपालिकामा आयोजित लायन्स कप २०२३ गल्र्स फुटसल टुर्नामेन्ट को उपाधि माउन्ट ओलिभ स्कुलले जितेको छ। माउन्ट ओलिभले महालक्ष्मी स्कुललाई पेनाल्टी सुटआउटमा २–१ ले पराजित गर्न सफल भयो।
निर्धारित ३० मिनेटको खेलमा माउन्ट ओलिभकी प्रलिशा महर्जनले गोल गर्दै आफ्नो टिमलाई अघि बढाए पनि महालक्ष्मी स्कुलकी मनिषा तामाङले बराबी गोल फर्काइन् । त्यसपछि खेलको निर्णय पेनाल्टीमार्पmत लिइएको थियो।

त्यसैगरी प्रतियोगितामा सिद्धिमंगल माविले तेस्रो स्थान र भानुदय स्कुलले चौथो स्थान प्राप्त गरे । तेस्रो स्थानका लागि भएको खेलमा भानुदय सिद्धिमंगलसँग १–० गोलले पराजित भयो । सिद्धिमंगलका लागि एक मात्र विजयी गोल सरु तामाङले गरिन्।
लायन्स क्लब अफ काठमाडौं रोयल फ्रेन्डसले आयोजना गरेको प्रतियोगितामा महालक्ष्मी नगरपालिकाका ८ वटा सरकारी र ५ वटा निजि गरी १३ वटा विद्यालय सहभागी थिए। प्रतियोगितामा सहभागिता जनाउन कुनै शुल्क लिइएको थिएन। लिग कम नकआउट ढाँचाको उक्त प्रतियोगिता फागुन १२, १३ र १५ गते थटिकोट स्थित लेजेन्ड फुटसलमा सञ्चालन भएको थियो।
प्रतियोगितामा पहिलो हुने माउन्ट ओलिभ स्कुलले २५ हजार, दोस्रो हुने महालक्ष्मी स्कुलले १५ हजार र तेस्रो हुने सिद्धिमंगल स्कुलले १० हजार पुरस्कारका साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाए । प्रतियोगितामा ११ गोल गरेकी सिद्धिमंगल माविकी सरु तामाङ सर्वाधिक गोलकर्ता र महालक्ष्मी स्कुलकी मनिषा तामाङ उत्कृष्ट खेलाडी घोषित भए।
विजयी टिम र खेलाडीहरूलाई लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ पि का पास्ट डिष्ट्रिक्ट गभर्नर लायन अनुप कुमार पहरी, महालक्ष्मी नगरपालिकाका उप प्रमुख लक्ष्मी महर्जन, डिष्ट्रिक्ट ३२५ पि का को चिफ एडभाईजर लायन दिनेश खरेल, सिनियर डिष्ट्रिक्ट एडभाईजर लायन ज्योति केसी, लायन अमरज्योति रञ्जित, डिष्ट्रिक्ट ३२५ पि एरिया नं. १ का चिफ कोअर्डिनेट लायन यदुराज लामिछाने आशिष, रिजन चेयरपर्सन लायन दिपक थापा, जोन चेयरपर्सन लायन पुरुषोत्तम बस्नेत लगायतले चेक, ट्रफी, मेडल र प्रमाणपत्र हस्तान्तरण गरे।
नेपाली कपडा ब्रान्ड केड की प्रबन्ध निर्देशक दिप्रिना शाक्यले विजयी खेलाडीहरू, उच्च गोलकर्ता र उत्कृष्ट खेलाडीलाई उपहार प्रदान गरिन्। लायन्स क्लब अफ काठमाडौं रोयल फ्रेन्डसका प्रेसिडेन्ट लायन दिप्रश शाक्यले खेल क्षेत्रमा छात्राहरूलाई प्राथमिकता र प्रोत्साहन दिनका लागि प्रतियोगिता आयोजना गरिएको बताए।
छात्राको क्षमता अभिवृद्धिका लागि लायन्स क्लब अफ काठमाडौं रोयल फ्रेन्डसले कार्यक्रम संयोजक लायन श्रृष्टि बज्राचार्य, क्लबका कोषाध्यक्ष लायन अमन महर्जन, अल फोर बललगायत अन्यको सक्रियतामा केही महिना अघिदेखि नै महालक्ष्मी नगरपालिकाका विभिन्न सरकारी विद्यालयका छात्राहरूलाई फुटबल वितरण, निःशुल्क फुटसल तालिम, ओरिएन्टेसन कार्यक्रम गरेको थियो ।
तालिमका लागि लेजेन्ड फुटसलले निःशुल्क ग्राउन्ड उपलब्ध गराएको थियो। कार्यक्रम संयोजक लायन श्रृष्टि बज्राचार्यले महिलाहरूलाई खेलकुदमा सहभागी गरी उनीहरूमा भएको अन्तरनिहित क्षमतालाई वृद्धि गरी महिला सशक्तिकरणमा योगदान गर्न क्लबले सानो प्रयास गरेको र यसलाई निरन्तरता दिने बताइन्।
फुटसल खेलको माध्यमबाट महिलाहरूमा शारिरीक तन्दुरुस्ती मात्र नभए टिमवर्क, लिडरसिप, अनुशासन र आत्मविश्वासमा समेत वृद्धि हुने बज्राचार्यको भनाइ छ ।
प्रतियोगिता सफल बनाउन नेपाल फाइनान्स लिमिटेड, केड, दरबार सिनेम्याक्स, दरबार मलले पनि सहयोग गरेका थिए। लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ पी को एरिया नं. १ अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाडौं रोयल फ्रेन्डस विभिन्न सामाजिक सेवाका कार्यहरूमा सक्रिय छ ।