काठमाडौं। बितेको वर्ष २०७९ समग्रमा अर्थतन्त्रका लागि धेरै नै दबाबको वर्ष रह्यो। वर्ष सुरुवातमै मुलुकको वाह्य क्षेत्रले अत्यन्त दबाब थेग्यो।
शोधनान्तर घाटा २ खर्ब ६८ अर्ब रुपैयाँ पुगेपछि सरकारले विभिन्न १० वस्तु आयातमा प्रतिबन्ध नै लगायो। अर्थतन्त्रसँगै राजनीति पनि त्यसैगरी अस्थिर भइरहे पनि सरकार चलाउनेको कुुर्सी भने अस्थिर छैन।
दलीय गठबन्धन कायम छ, जसले प्रधानमन्त्री पुष्पकमल दाहालको कुर्सी राम्रैसँग अड्याएको छ। अर्थतन्त्रमा अस्थिरता जारी छ। २०८० सालमा पनि मुलुकको अर्थतन्त्रमा केही चुनौती कायमै रहने देखिएको छ। तर, सुधार क्रम भने देखिएको छ।
यो वर्ष वाह्य क्षेत्रमा आएको सुधारले आन्तरिक अर्थतन्त्रमा पनि सकारात्मक असर पार्ने अपेक्षा गर्न सकिन्छ। अहिलेको शोधनान्तर बचतको अवस्था कायम रह्यो भने बैंकिङ क्षेत्रमा तरलतामा सुधार आई २०८० मा ब्याजदर थप घट्ने र यसले आन्तरिक अर्थतन्त्र चलायमान हुने देखिन्छ। विदेशी विनिमय सञ्चिति १० अर्ब ६९ करोड अमेरिकी डलर पुगेको छ।
यसले ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्छ। खासगरी दुइटा क्षेत्रमा बढी दबाब देखिएका छन्। पहिलो, उच्च ब्याजदर र कर्जा प्रवाह कम रहेकाले आन्तरिक मागमा केही शिथिलता आएको छ। भलै अर्थतन्त्र ‘ट्र्याक’ बाहिर जाओस्, प्रधानमन्त्री दाहालको कुर्सी भने टसमस हुनुहुँदैन।
प्रधानमन्त्रीको मात्र होइन, अर्थमन्त्री डा. प्रकाशशरण महतको कुर्सी पनि ढुक्क भएर बसेको छ। तर, शिथिल अर्थतन्त्रलाई सुधारको गतिमा कुदाउन अर्थमन्त्री महतलाई अलि बढी नै दबाब भने पक्कै छ।