काठमाडौं। नेपालमा लगानीको वातावरण प्रतिकूल रहेको भन्दै उद्यमीहरू निरुत्साहित भइरहेका बेला रौतहटमा अथर्व टेक्सटाइल्स प्राइभेट लिमिटेडको स्थापनाले नयाँ आशा जगाएको छ। एक चिकित्सकको नेतृत्वमा डेढ अर्ब रुपैयाँको लगानीमा स्थापना भएको उद्योगले औद्योगिक विकासको नयाँ अध्याय सुरु गरेको छ।
पेशाले चिकित्सक शम्भु चौधरीले रौतहटमा अत्याधुनिक टेक्सटाइल उद्योग सञ्चालनमा ल्याएका हुन्। उनी आफ्नो पहललाई देशप्रतिको समर्पणको रूपमा व्याख्या गर्छन्। उनी भन्छन्, ‘म एक डाक्टर हुँ। तर, देशका लागि केही योगदान गर्न चाहन्छु। हाम्रो पुर्खौली व्यापार कपडाकै भए पनि परिवार ट्रेडिङमा मात्र थियो। तर, ट्रेडिङभन्दा उद्योगले देशलाई बढी फाइदा गर्छ।’
वातावरणमैत्री उत्पादनमा विशेष ध्यान दिइएको यस उद्योगमा पानीको बचत गर्ने ‘सफ्ट फ्लो’ नामक प्याटेन्टेड प्रविधि प्रयोग गरिएको छ। ‘म आफैँ डाक्टर भएकाले शरीर र वातावरण दुवैमा नकारात्मक असर नपरोस् भन्नेमा विशेष सचेत छु,’ उनले थपे।
अत्याधुनिक प्रविधि र उच्च गुणस्तरको उत्पादन
तीन बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा ताइवानबाट निटिङ मेसिन र टर्कीबाट डाइङ तथा प्रोसेसिङ मेसिन ल्याइएको छ। यसले टी-शर्ट, ट्राउजर, ज्याकेट, पर्दा र बेडसिट जस्ता विविध कपडाका उत्पादनहरू गर्ने छ।

अन्तर्राष्ट्रिय मापदण्डहरू जस्तै, ओकेइटी टिइएक्स र जीओटीएसको पालना सुनिश्चित गर्न रोबोटिक प्रविधिमा आधारित आफ्नै प्रयोगशाला स्थापना गरिएको छ। यसले उत्पादनको गुणस्तरमा एकरुपता कायम राख्न मद्दत गर्ने छ।
स्थानीय रोजगारी र महिला सशक्तिकरण
यस उद्योगले प्रत्यक्ष रूपमा करिब २४० जनालाई रोजगारी दिनेछ। रोजगारीमा स्थानीयलाई विशेष गरी महिलाहरू प्राथमिकता परेका छन्। ‘महिलाहरूले काम गरेमा घरपरिवारलाई पनि सहयोग पुग्छ,’ उद्योगका प्रबन्ध निर्देशक चौधरीले भने।
यसको मुख्य उद्देश्य रौतहटजस्तो अविकशित क्षेत्रमा रोजगारी सिर्जना गरी युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्नु पनि हो।
आयात प्रतिस्थापन र निर्यातको सम्भावना
हाल नेपालमा करिब ९० प्रतिशत कपडा विदेशबाट आयात हुन्छ। अथर्व टेक्सटाइल्सले यसलाई कम गरी स्वदेशी उत्पादनले विस्थापित गर्ने लक्ष्य राखेको छ। कम्पनीको आफ्नै ‘अथर्व’ ब्रान्ड हुनेछ। यसले सुरुमा भारत निर्यातमा केन्द्रित हुने योजना बनाएको छ।

उत्पादित कपडा सीधै ग्राहकलाई नभई गार्मेन्ट उद्योग र डिलरहरूलाई बिक्री गरिने छ। यसका लागि काठमाडौंको बालाजुमा बिक्री कार्यालय स्थापना गरिएको छ।
कोभिड कालमा सुरु
कोभिड महामारीका बेला निर्माण कार्य सुरु गरिएको यो उद्योगमा एक अर्ब ५० करोड रुपैयाँ लगानी गर्नु एक उल्लेखनीय कदम हो। ‘अहिले जोखिमपूर्ण भए पनि यो परिस्थिति सधैँ नरहने र भविष्य उज्ज्वल हुने हाम्रो विश्वास छ,’ उनले भने।
उद्योग २४ घण्टामा दुई सिफ्ट गरी सञ्चालन हुनेछ। दक्ष टेक्निसियनहरू सुरुमा भारतबाट ल्याइए पनि स्थानीय कामदारलाई तालिम दिएर दक्ष बनाउने योजना छ। उद्योग सञ्चालकले न्यून बिजीकरण, भन्सार छली र चोरी पैठारी नियन्त्रणका लागि सरकारसँग नीतिगत सहयोगको अपेक्षा गरेका छन्।

