काठमाडौं। काठमाडौंको सुकेधारमा सञ्चालित पाँचतारे होटल मर्क्योरबाट व्यवसायी राजेन्द्र राउत बाहिरिएका छन्। २०८१ माघदेखि सञ्चालनमा आएको मक्र्योर होटलमा साझेदारको रुपमा रहेका विराटनगरमा व्यवसायी राउत हालै अलग भएका हुन्।
मर्क्योर होटलमा २५ प्रतिशत सेयर स्वामित्व रहेका राउतले विराटनगरमै आफ्नो व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन्। उनले मक्र्योर होटल सुरु भएदेखि नै लगानी गरिरहेका थिए। तर, सञ्चालनमा आएको १ वर्ष पूरा नहुँदै सञ्चालकमध्येका राउत बाहिरिएका हुन्।
३ अर्ब रुपैयाँ लगानीमा निर्माण तथा सञ्चालनमा रहेको होटलमा राउत बाहिरिए पनि २५ प्रतिशत सेयरको कति रकम लिए भन्ने खुलेको छैन। राउत निकट व्यवसायीका अनुसार होटल सञ्चालक समितिबाट निस्किने निश्चित भए पनि हालसम्म नामसारी हुन सकेको छैन।
राउतले आफू होटलबाट बाहिरिने जानकारी दिँदै अरु कुनै लगानीकर्तालाई भित्र्याउन होटलका अध्यक्ष देशबन्धु बस्नेत(अजित)लाई अनुरोध गरिरहेको बताए।
नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेश अध्यक्षसमेत रहेका राउतले हाल विराटनगरमै २ अर्ब ५० करोड रुपैयाँ लगानीमा सुविधासम्पन्न अस्पताल निर्माण गरिरहेका छन्। अबको २० महिनाभित्रै सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको अस्पतालको ७ तलाको काम सकिसकेको छ।
अस्पतालमै लगानी केन्द्रित गरिरहेकोले पनि मक्र्योर होटलबाट व्यवसायी राउत बाहिरिएको हुन सक्ने बताइएको छ।राउतसँग अहिले पनि माइनिङ (खानी उद्योग) अन्तर्गत मारुती सिमेन्ट, अन्नपूर्ण सिमेन्ट तथा जुत्ताचप्पल उद्योग, तीन वटा पेट्रोल पम्म, टायरको व्यापारलगायत उद्योग छन्।
२०८१ माघमा सञ्चालनमा आएको थियो मक्र्योर
नेपाल उद्योग वाणिज्य महासंघका पर्यटन समिति सभापतिसमेत रहेका बस्नेतको मुख्य लगानी रहेको मर्क्योर २०८१ माघमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन्। बस्नेतले पहिलो पटक नेपालमा विश्व प्रसिद्ध एकोर ग्रुप भित्र्याएका थिए। बस्नेतले द मेट्रोपोलिटन होटल प्रालिको व्यवस्थापनमा विश्व प्रसिद्ध एकोर समूह भित्र्याएका हुन्।
पाँच रोपनी क्षेत्रफलमा निर्माण भएको होटल ११ तले भने १०४ वटा विलासी कोठा छन्। एसिया, युरोप, अफ्रिका एवं मध्यपूर्वका सय बढी देशका ५ हजार ४ सय बढी होटल व्यवस्थापन हेरिरहेको उक्त समूहले नेपालमा पहिलो पटक द मेट्रोपोलिटनमा मक्र्युर ब्रान्डमा व्यवस्थापन सम्हालेको हो।
होटलमा आरामदायी र फुर्सदी यात्रुको आवश्यकताअनुरुपका कोठा डिजाइन गरिएको छ। नेपाली, इन्डियन, चाइनिज रेस्टुराँसँगै स्वीमिङ पुल, सयौंको संख्यालाई एकैसाथ सेवा दिन सकिने बैंक्विट हलसमेत उपलब्ध छ।
आरामदायी लबी बार, पाहुनाका लागि शान्त वातावरण होटलमा पाइनेछ। होटलको ११औं तलामा काठमाडौं उपत्यकालाई नियाल्दै स्वीमिङको मज्जा लिन सकिन्छ। त्यहाँबाट हिमाललाई नियाल्दै कफी र मदिराको चुस्की लिन सकिन्छ। होटलमा कार्यक्रम र बैंठकका लागि पर्याप्त स्वीट हलसमेत उपलब्ध छ। यस्तै आधुनिक जिम, स्टीम र सौना, वेलनेस सेन्टरसमेत रहेको छ।