सिन्धुली। सिन्धुली जिल्ला अस्पतालमा भएको घटनाको विषय लिएर सिन्धुलीमाढीमा सर्वदलीय बैठक बसेको छ। बैठकले अस्पताल तोडफोड गर्ने, स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने, सामाजिक सञ्जालमा घटना अतिरञ्जित गर्दै स्वास्थ्यकर्मीको चरित्रहत्या गर्नेजस्ता क्रियाकलाप गर्नेलाई अनुसन्धान गरी प्रचलित कानुनबमोजिम कारबाही गर्ने निर्णय गरेको छ। राजनीतिक दल र तिनका भ्रातृ संगठन वा नेता कार्यकर्ता तोडफोड कार्यमा संलग्न भएको पाइए सम्बन्धित राजनीतिक दलको तर्फबाट समेत कारबाही गर्ने निर्णय गरिएको छ।
त्यस्तै, अस्पतालको इमर्जेन्सी वार्डलाई यथाशीघ्र सञ्चालन र अविलम्ब मर्मत सम्भार गरी बिरामी भर्ना र ओपिडीलगायत सेवा सञ्चालन गर्ने पनि बैठकमा निर्णय गरिएको छ।
सात बुँदामा भएको निर्णयमा अस्पतालको सरसफाइ, सुरक्षाकर्मीको समन्वयमा स्वयंसेवक परिचालन, सम्भावित अराजक गतिविधि निरुत्साहित गर्न र समस्याको दीर्घकालीन समाधान गर्न र राजनीतिक दल एवं नागरिक समाजले आवश्यक पहल गर्न, घटनाबारे भएका सूचना सम्बन्धितले प्रहरीलाई उपलब्ध गराउँदै आवश्यक सहयोग गर्नेलगायत निर्णय भएका छन्।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको अध्यक्षतामा सम्पन्न बैठकमा सुत्केरी हुन नसकेर मृत्यु भएकी गंगाकुमारी श्रेष्ठका परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ।
सिन्धुली अस्पतालले ९ र १० जेठमा भएको घटनालाई ‘भवितव्य’ भनेको छ। अस्पतालले उपचारका लागि रेफर गरिएको बिरामीको मृत्युपछि भएको घटनाले आफूहरूलाई दुखी बनाएको अस्पताल विकास समिति अध्यक्ष सतिशकुमार ढकालले बताए।
मेडिकल सुपरिन्टेन्डेन्ट डा. उमेश प्रधानले छानबिन समिति बनिसकेको बताउँदै प्रदेश सचिवसहितको टोली सिन्धुली अनुगमन आउन लागेकाले छानबिनको निष्कर्ष कुर्न आग्रह गरे। ‘छानबिनमा जे दखिन्छ, त्यसैलाई कुरौं,' उनले भने, ‘प्रसुती रोग विशेषज्ञले गरेको उपचारमा हामीले बोल्न मिल्दैन। इमर्जेन्सी सेवा बन्दा गर्न नमिल्ने भए पनि बसेर उपचार गर्ने ठाउँसमेत नभएकाले समस्या भएको अस्पतालले जनाएको छ।’
डा. प्रधानको भनाइअनुसार प्रहरी मुचुल्का उठाउन बाँकी रहेको र प्रशासनले पनि मुचुल्का नउठाउन्जेल सरसफाइ नगर्न भनेकाले अहिलेसम्म सेवा सञ्चालन नभएको हो।
सरसफाइ र मर्मतपछि छिट्टै इमेर्जेन्सी सेवा सञ्चालन हुने भएको छ। अन्तरंग विभागमा आपतकालीन बिरामी आए उपचार गर्ने गरी सेवा दिने व्यवस्था मिलाइएको छ। घटनापछि बिरामी आउन नसकेको अस्पतालले जनाएको छ।
नेकपा एमाले जिल्ला सचिव नारयण बराल, नेपाली कांग्रेस जिल्ला सभापति उपेन्द्र पोखरेल र नेकपा माओवादी केन्द्रका सचिव ज्वालाप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा अस्पताल पुनर्निर्माण गरी सेवा सुचारु गर्न अनुरोध गरिएको छ। उनीहरूले स्वास्थ्यकर्मीलाई नियमित कामकाजमा फर्कन र अतिआवश्यक स्वास्थ्य सेवा सुचारु गर्न आग्रहसमेत गरेका छन्।
क्षति विवरणसहित सिन्धुली अस्पतालले बागमती प्रदेश सरकारसँग बजेट माग गरेको छ। सेवा सुचारु गर्न आवश्यक बजेट विनियोजन गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरिएको हो। तत्काल सेवा सञ्चालनार्थ आवश्यक बजेट व्यवस्थापन गरिदिन माग गर्दै अस्पतालले ५० थान आल्मुनियम झ्याल, ढोका, तीनथान होर्डिङ बोर्ड, एकथान फ्रिजर, एकथान सवारीसाधन, एकथान ई–हाजिरी मेसिन, तातोपानी, चिसो पानी मेसिन पाँचथान र स्ट्रेचर ट्रली दुईथान खरिद गर्न बजेट माग गरेको छ।