बागलुङ। विद्युत तथा नवीकरणीय ऊर्जाको पहुँच नपुगेका बागलुङका दुगर्म स्थानका केही घरमा उज्यालोका लागि टुकीकै भर छ। सरकारले आयातीत इन्धनको परिमाणलाई उल्लेख्य रूपमा घटाउने गरी प्रतिव्यक्ति विद्युत खपत वृद्धि गर्ने लक्ष्य लिए पनि जिल्लाका कतिपय घरमा अझै उज्यालोका लागि टुकीको नै भर पर्नुपर्ने बाध्यता रहेको तथ्यांक सार्वजनिक भएको छ।
राष्ट्रिय जनगणना २०७८ अनुसार बागलुङमा दुई सय १४ परिवार उज्यालोका लागि टुकीकै भर परेको तथ्यांक कार्यालयको छ। जिल्लाको दुर्गम स्थानमा अझै केन्द्रीय विद्युत मात्रै होइन स्थानीय विद्युत्समेत पुग्न नसक्दा उज्यालोको सहारा टुकी रहेको पाइएको छ।
हालै सार्वजनिक गरिएको जिल्लाको तथ्यांकअनुसार उज्यालोका लागि टुकीको प्रयोग गर्ने सो संख्याका परिवार रहेको तथ्यांक कार्यालयका प्रमुख चन्द्रकान्त पौडेलले जानकारी दिए।
पौडेलका अनुसार जिल्लामा धमाधम विद्युतीकरण भए पनि अझै उज्यालोका लागि टुकीकै भर पर्ने परिवारसमेत रहेको पाइएको छ। जनगणनाका क्रममा उज्यालोका लागि प्रयोग गर्ने इन्धनमा नखुलेका चार सय २३ परिवारले समेत गुइँठासहित अन्य घरेलु इन्धनको प्रयोग गर्ने गरेको पाइएको छ।
उनका अनुसार जिल्लामा चार सय २३ परिवार बिजुली, सोलार, बायोग्यास र मट्टितेलको पहुँचभन्दा समेत टाढा छन्। उनले भने, ‘उनीहरूले कुनै इन्धन नै प्रयोग नगरेको गणकहरुलाई बताएका छन्, उनीहरू स्थानीय इन्धनको प्रयोग गर्ने र अन्धकारमा बस्ने हुन सक्छन्।’
अहिलेको जनगणनाअनुसार जिल्लाभर ६४ हजार ९६ परिवारको बासोबास छ। त्यसमध्ये ६२ हजार दुई सय २८ परिवारमा बिजुलीको पहुँच छ भने एक हजार दुई सय २० परिवारले सौर्य ऊर्जाको प्रयोग गर्दै आएका छन्। जिल्लाभर जम्मा ११ परिवार बायोग्यासको सहारामा उज्यालो उपभोग गरिरहेको तथ्यांक रहेको छ।
जिल्लाको दुर्गम क्षेत्रमा अहिले पनि विद्युतको सर्वसुलभ पहुँच छैन। स्थानीय खोलाको विद्युतले जिल्लाको पश्चिम भेग उज्यालो भए पनि विकट गाउँका टोलमा विद्युतको पहुँच पुग्न नसकेको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासिनीले बताए।
उनका अनुसार जिल्लाको तमानखोला र निसीखोला गाउँपालिकामा विद्युतीकरण विस्तार गर्न थालिएको छ। उनले स्थानीय विद्युत्को समेत पहुँच नपुगेको गलकोटको रमुवा, निसीखोलाको निशेलढोर, बडिगाडको सिसाखानी तथा तमानखोलाको नर्जा र खुङ्खानीका केही पातलो बस्ती रहेको बताए।
विद्युत प्राधिकरणले जिल्लाका सबै स्थानमा विद्युत् पुर्याउनका लागि काम गरिरहेको र जिल्लाका १० पालिकामध्ये निसीखोला र तमानखोलामा बल्ल केन्द्रीय प्रशासरण लाइन विस्तारको काम थालिएको मरासिनीको भनाइ छ। यस्तै, ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाका केही वडामा केन्द्रीय विद्युत पुग्न सकेको छैन।
स्थानीय खोलाबाट उत्पादन गरिएका लघु जलविद्युत आयोजनाबाट ती पालिकामा विद्युतीकरण गरिएको भए पनि छरिएको बस्तीमा विद्युत पुग्न नसकेको प्राधिकरणले जनाएको छ। सरकारले आगामी दुई वर्षभित्र शतप्रतिशत जनसंख्या विद्युतको पहुँचमा पुर्याउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रका घरधुरीमा लघु तथा साना जलविद्युत र सौर्य तथा वायु जस्ता नवीकरणीय ऊर्जा प्रविधिको विस्तार गरिने आगामी वर्षको बजेट तथा नीति कार्यक्रममा समेटिएको छ।