काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषदको बैठक बोलाएका छन्। प्रधामन्त्री निवास बालुवाटारमा बैठक ९ बजेका लागि बोलाइएको छ। आजको बैठकमा मुख्यसचिव र राजदूत नियुक्ती गर्ने तयारी छ।
प्रधानमन्त्री कार्यालयमा रहेका सचिव वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी भएको छ। अहिलेका मुख्यसचिव शंकरदास बैरागीलाई मन्त्री स्तरको सेवा सुविधा दिने गरी प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार, महालेखापरीक्षक वा राजदूतमा व्यवस्थापन गर्ने तयारी छ।
मुख्यसचिवको कार्यकाल नसकिंदै बैरागीलाई अन्त व्यवस्थापन गर्न लागिएको हो। मुख्यसचिव हुन लागेका अर्याल आगामी असार २ मा अनिवार्य अवकासमा जाने थिए। वैरागी परराष्ट्र सेवाबाट मुख्यसचिव बनेका थिए। उनले राजदूतको रूपमा भारत,चीन र अमेरिका नपाउने भए आफुलाई नेपालमै व्यवस्थापन गर्न प्रधानमन्त्रीसंग आग्रह गरेको स्रोत बताउँछ।
परराष्ट्र सचिव भरत पौडेललाईसमेत क्यानडाको राजदूत बनाउने तयारी छ। उनको ठाउँमा सेवा लम्साल परराष्ट्रसचिव बन्ने लगभग निश्चित छ। यसपटक सचिवका लागि तीन जनाको सिफारिस समेत आवश्यक नपर्ने भएको छ। लम्साल सबैभन्दा सिनियर सहसचिव हुन्।
संयुक्त राष्ट्रसंघका लागि स्थायी राजदूतमा लोकबहादुर थापाको सम्भावना छ। उनी यसअघि ब्रसेल्समा राजदूतसमेत थिए। न्युयोर्कका लागि परराष्ट्रसचिवसमेत लविङमा छन्। तर, उनको कार्यसम्पादनबाट प्रधानमन्त्री दाहाल सन्तुष्ट नभएकाले उनलाई अन्तै व्यवस्थापन गर्ने सम्भावना बढी छ।
चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठको कार्यसम्पादन समेत कमजोर भएको बताइन्छ। उनलाई फिर्ता बोलाएर चीन अर्कै व्यक्तिलाई राजदूत बनाउने सम्भावनासमेत बढेर गएको छ। पूर्वराजदूत युवनाथ लम्साललाईसमेत आजै प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार बनाउने सम्भावना छ।
अहिले थाइल्याण्ड, फ्रान्स, कुवेत, जेनेभा, युएई, क्यानडा र न्युयोर्क गरेर सात ठाउँ राजदुत पद रिक्त छ। रिक्त रहेका सबै नियोगमा परराष्ट्र सेवा कर्मचारी राजदूत थिए।
अहिले पनि परराष्ट्र सेवाबाटै राजदूत पठाउने तयारी भए पनि केही ठाउँ राजनीति क्षेत्रबाट समेत राजदूत पठाउनुपर्ने लविङ भइरहेको छ। थापा, पौडयाल, तेजबहादुर क्षेत्री, सुधीर भट्टराई र घनश्याम लम्साल राजदूत बन्ने निश्चित छ। राजदूतका लागि धनबहादुर ओली र रामप्रसाद सुवेदीसमेत दौडमा छन्।