काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरण चालू आर्थिक वर्षको पुँजीगत खर्चमा अब्बल देखिएको छ । हालसम्म वार्षिक विनियोजित बजेटभन्दा बढी अर्थात् १५० प्रतिशत पुँजीगत खर्च गरेको प्राधिकरणले जनाएको हो । वार्षिक बजेट ७० करोड विनियोजन भएकोमा हालसम्म १ अर्ब ५ करोड रुपैयाँ खर्च भएकाे हाे, जुन विनियाेजित वर्षिक बजेटकाे १५० प्रतिशत हाे । थप ९० करोड गरी १६० करोड रूपैयाँमा काम अघि बढेकाे प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले बताए । उनले थप २२ करोड रुपैयाँका लागि अर्थमन्त्रालयसँग प्रस्ताव गरिएको बताए ।
कुल एक अर्ब ८२ करोड रुपैयाँमध्ये बाँकी बजेट असार मसान्तभित्र खर्च हुने तिवारीको भनाइ छ । ‘हालसम्म हामीले वार्षिक बजेटभन्दा बढी खर्च गरिसकेका छौं । त्यसअनुसार प्रगति भइरहेको छ,’ उनले भने, ‘हालसम्म १५० प्रतिशत पुँजीगत खर्च गर्यौं । असारसम्म शतप्रतिशत खर्च र प्रगति हुन्छ ।’
अहिले प्राधिकरणअन्तर्गत काठमाडौं, भक्तपुर र ललितपुरका कार्यालयले सडक विस्तार, क्षतिपूर्ति, विपद् व्यवस्थापन पार्क, सार्वजनिक जग्गा संरक्षण लगायतका काममा उल्लेख्य प्रगति र बजेट खर्च गरेको प्राधिकरणका योजनाकार भागवत खोखालीले जानकारी दिए ।
तीन ओटा आयोजना जिल्लास्तरीयरुपमा अघि बढेका छन् । त्यस्तै, धोबीखोला सडक करिडोरको काम लक्ष्यअनुसार भएको प्राधिकरणले जनाएको छ । चाँगुनारायण र सूर्यविनायकमा नयाँ सहरका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) सकिएको छ । आगामी वर्षमा नयाँ सहर बनाइसक्ने प्राधिकरणको दाबी छ ।
त्यस्तै, प्राधिकरणले आगामी आर्थिक वर्षमा मुख्यगरी उपत्यकाभित्र ४ ओटा नयाँ नगर र भौतिक विकास गुरुयोजना निर्माण सुरु गर्ने भएको छ । एक वर्षमा आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) र अन्य प्रक्रिया पूरा गर्ने प्राधिकरणको योजना छ । आव २०७७/०७८ भित्र दुई ओटै आयोजना सम्पन्न गर्ने योजनामा प्राधिकरण छ । दुई ओटै आयोजनाका लागि २४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आगामी आवमा उपत्यकामा भौतिक विकास गुरुयोजना बनाउन ४ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, नयाँ नगर र ग्रीन सिटी परियोजनामा बजेट छुट्याएको प्राधिकरणले जनाएको छ ।
उपत्यकाभित्र ४ ओटा नयाँ नगर प्राधिकरणको ‘पाइलट प्रोजेक्ट’ हो । ६५३ वर्गकिमि क्षेत्रफलमा भौतिक विकास गुरुयोजना बनाइने छ । उपत्यकाको भौतिक पूर्वाधार म्यापिङ, भूउपयोग नक्शाङ्कन र सहरी व्यवस्थापनका लागि उपत्यका विकास गुरुयोजना बनाइएको खोखालीले बताए ।
प्राधिकरण सहरी विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार निकाय हो । प्राधिकरणको सबैभन्दा ठूलो योजना उपत्यकाभित्र बाहिरी चक्रपथ निर्माण अघि बढ्न सकेको छैन ।