काठमाडौं। जिल्ला अदालत काठमाडौंको नजरमा क्यापिटल नेपाल डटकमले लेखेका सेरेसविरुद्धका समाचार अप्रमाणित र असत्य नठहरिएकाे देखिएकाे छ।
बिजनेस नेपाल म्यानेजमेन्ट प्रालिद्वारा सञ्चालित क्यापिटल नेपाल डटकमले असार १ गते प्रकाशित गरेको ‘चीनको इभी बजारमा बीवाईडी शीर्षस्थानमा, जिली दोस्रो र सेरेस ब्रान्डको विक्री दयनीय’ शीर्षक समाचार असत्य र अप्रमाणित नभएको निरोपण गरेको हो।
एमएडब्ल्यू वृद्धि मोटर्स प्रालिले बिजनेस नेपाल म्यानेजमेन्ट प्रालिअन्तर्गतको क्यापिटल नेपालले लेखेको उक्त समाचारविरुद्ध उक्त समाचार हटाउन अन्तरिम आदेशसहित निषेधाज्ञा जारी गरी पाउँ भनी हालेको मुद्दामा समाचार हटाउन कुनै पनि आदेश जारी नगरेको हो।
जिल्ला अदालत काठमाडौंले असार ९ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै असार २४ गते दुवै पक्षलाई छलफलमा बोलाएको थियो।

बिजनेश नेपाल म्यानेजमेन्ट प्रालिका तर्फबाट अधिवक्ता रमण कर्ण, सेमन्त दाहाल, रामचन्द्र (आरसी) गौतम, किशोर पौडेल, विशेष थापा, रोशन नेपाल र परितोष घिमिरेले बहस गरेका थिए।
उक्त बहसपश्चात अदालतले अन्तिम फैसला नभएसम्म यी एमएडब्ल्यू वृद्धिका विरुद्ध हुने गरी अप्रमाणित र सत्यतथ्यमा आधारित नभएको समाचार आफ्नो वेबसाइट, अनलाइन वा अन्य माध्यमबाट प्रकाशन, प्रसारण नगर्न, नगराउन भनी अदालतबाट मिति २०८२/०३/०९ गते जारी भएको अल्पकालीन अन्तरिक आदेशले निरन्तरता पाएको हो।
एमएडब्ल्यूले क्यापिटल नेपालले लेखेको समाचार अप्रमाणित र सत्यमा आधारित नभएकाले साइटबाटै हटाउन माग गरेको थियो।

