काठमाडौं। चीनतिरबाट लगातार पानी परेपछि भोटेकोसीमा आएको बाढीले नेपालसँगको उत्तरी अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा अवस्थित मितेरी पुल बगाएसँगै दुई देशबीचको सडक सम्पर्क टुटेको छ।
सडक सम्पर्क टुटेसँगै दुई मुलुकबीचको व्यापार प्रभावित हुने देखिएको छ। दुई देशबीचको व्यापार सम्पर्क बिन्दु मितेरी पुल बाँचिएसँगै सीमा व्यापार पनि प्रभावित हुने देखिएको हो।
चिनियाँ लगानीमै निर्माण भएको सम्पर्क बिन्दु मितेरी पुल जीर्णावस्थामा रहिरहेका बेला ७२ भूकम्पले थप क्षति गरेपछि तिब्बत इन्जिनियरिङ कम्पनी तान सुन रोड एन्ड ब्रिजले पुनर्निर्माण गरेको थियो।
२०७७ को बाढीले उक्त पुलमा क्षति गरेपछि मर्मत गरेर पुनः सञ्चालनमा ल्याइएको थियो। मितेरी पुललाई पारि चीनबाट बग्ने लेन्दी खोलाले बर्खाका पिरोल्ने गरेको छ। पुलमा क्षति पुगेपछि दुई देशबीचको सडक सम्पर्क विच्छेदसमेत हुने गर्छ।
यसअघि पहिरोका कारण प्रभावित हुँदै आएको व्यापार बाढीले पुलै बगाएपछि झनै अनिश्चित भएको हो। २०७६ जेठदेखि सञ्चालनमा आएको उक्त पुल तेस्रोपटक भाँचिएको हो।
भोटेकोसी बाढीपछि सीमानाकामा सम्पर्क टुटेपछि चीनस्थित महावाणिज्यदूत तथा सीमामा रहेका चिनियाँ अधिकारीसँग कुरा भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए।
‘हामीले बाढीमा फँसेकाको उद्धारको काम गरिरहे पनि व्यापार प्रभावित हुने अवस्था आएपछि चीनस्थित महावाणिज्य दूतावास र सीमामा रहेका अधिकारीसँग कुरा गरेका छौं। उताबाट स्थिति सामान्य हुनासाथ अनुगमनको आश्वासन पाएका छौं,’ उनले भने।
बाढीले रसुवागढी नाका नजिकै निर्माण भइरहेको सुक्खा बन्दरगाहमा पनि क्षति गरेको उनले जानकारी दिए। बाढीले सीमामा रहेका चार्जिङ स्टेसन, रसुवागढी जलविद्युत् आयोजनालगायत संरचनामा पनि क्षति पुर्याएको छ। भन्सार यार्डमा रहेका मालवाहक कन्टेनर तथा विद्युतीय सवारी बगाएको छ।