काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बालुवाटारस्थित नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयको नयाँ भवनको आज एक समारोहबीच शिलान्यास गरेकी छिन् ।
त्यस अवसरमा राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक क्षेत्रको प्रवद्र्धन र नियमका साथै अनुशासन कायम राखी उच्च आर्थिक वृद्धि र स्थायित्वका लागि केन्द्रीय बैंकको भूमिका प्रभावकारी हुने बताउँदै उक्त भवन निर्धारित समयमै सम्पन्न हुने कामना गरिन्। उक्त भवन विसं २०७२ को विनाशकारी भूकम्पबाट प्रभावित भएको थियो ।
सो आम नेपालीमा विश्वास र भरोसा भएको बैङ्कले आगामी दिनमा जारी गर्ने मौद्रिक नीतिले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्पलाई साकार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।
अर्थमन्त्री डा.युवराज खतिवडाले मुलुक अहिले आर्थिक क्षेत्रकै पुनःनिर्माणको चरणमा रहेको उल्लेख गर्दै सरकारले आर्थिक वृद्धिका साथै सामाजिक न्यायमा आधारित वितरणलाई पनि उत्तिकै प्राथमिकता दिएको छ भने । लगानीको वातावरणका लागि सरकारले काम गरिरहेको भन्दै उहाँले मुलुकलाई विद्युतीय र बैङ्किङ कारोवारयुक्त बनाउन अभियान सञ्चालन गरिएको बताए ।
अर्थमन्त्री डा.खतिवडाले वित्तीय स्थायित्वको चरणमा मुलुक पुगेकाले मूल्यवृद्धि र व्यापार घाटा घटाउन तथा लगानीको प्रतिफल ल्याउन बैङ्कले प्रभावकारी भूमिका खेल्न सक्ने बताए ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले पुनःनिर्माणले पछिल्लो समयमा गति लिएको उल्लेख गर्दै नेपालले पुनःनिर्माणका क्षेत्रमा प्राप्त गरेका उपलब्धि र अनुभव भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।
बैङ्ककका गभर्नर डा.चिरञ्जीवी नेपालले विनाशकारी भूकम्पबाट बालुवारटारस्थित केन्द्रीय कार्यालय, थापाथलीस्थित कार्यालयलगायत प्रभावित भए पनि भूकम्प गएको दोस्रो दिनदेखि सेवालाई निरन्तरता दिएको जनाए ।
कूल दुई अर्ब आठ करोड रुपैयाँको लगानीमा साढे ६१ रोपनी क्षेत्रफलमा निर्माण हुने सो भवन अत्याधुनिक हुने बैङ्कले जनाएको छ । आगामी दुई वर्षमा निर्माण सम्पन्न हुने सो भवन प्राधिकरणको केन्द्रीय कार्यान्वयन एकाइको बजेटबाट बन्न लागेको हो ।