काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराईले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आफूले भ्रष्टाचार नगरेको भन्दै चुनौती दिएका छन्।
उनले आफू २०७६ साउन १५ गतेदेदि २०७७ पुस ५ गतेसम्म संस्कृति, पर्यटन तथा नगारिक मन्त्री रहेको बताउँदै भ्रष्टाचारको प्रमाण पेश गर्न चुनौती दिएका हुन्।
‘पोखरा र भैरहवा विमानस्थल बारेमा मेरो हस्ताक्षरमा कुनै निर्णयले राज्यलाई कुनै नोक्सानी भएको भए प्रमाणसहित सार्वजनिक गर्न मेरा विरुद्ध प्रायोजित समाचार उत्पादन गर्ने कारखानालाई चुनौती छ,’ भट्टराईले फेसबुकमा लेखेका छन्, ‘सत्ता र पदको दुरुपयोग गरेर भ्रष्टाचार र बेथितीको दलदलमा जाकिएकाहरू काँक्रा आफू खाने र बिँया अर्काको निधारमा टाँस्न कती खप्पिस छन् भन्ने मैले राम्ररी बुझेको छु। मिडिया ट्रायल गरेर उम्कन सकिन्छ भनेर ढुक्क नभए हुन्छ।’
उनले आफूमाथि जसले औँला उठाएका छन् उनीहरू नै दोषी भएको बताए। उनले थप लेखेका छन्, ‘मलाई औँला उठाउनेहरू नै पर्नेवाला छन्। डकुमेन्ट मसँग छ। आवश्यक परे सार्वजनिक गरौँला।’
भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको अनियमितताबारे संसदीय उपसमितिले अध्ययन गरिरहेको छ।
यी दुई विमानस्थलमा सांसदहरूका अनुसार राज्यको अर्बौं रुपैयाँ लगानी भएको तर प्रतिफल दिन नसकेपछि अध्ययन थालिएको थियो। दातृ निकायसँग ऋण लिएर राष्ट्रिय गौरवमा समावेश गरिएका यी आयोजनालाई सरकारले निकै महत्वका साथ निर्माण गरेको हो।
३० अर्ब रुपैयाँको लगानीमा बनेको भैरहवा विमानस्थल २०७९ जेठमा र २४ अर्ब लगानी भएको पोखरा विमानस्थल २०७९ पुसमा निर्माण सम्पन्न भएर उद्घाटन भएको थियो।