काठमाडौं। राजसंस्था पुनःस्थापना माग गर्दै गत चैत १५ मा काठमाडौंको तीनकुनेमा राजावादी समूहबाट भएको आगजनी, तोडफोडबाट करिब ४७ करोड क्षति अनुमान भएको मूल्यांकन सरकारले गरेको छ।
राजावादीको तीनकुनेमा विरोधसभा हिंसामा परिणत हुँदा करोडौंको भौतिक सम्पत्ति र दुई जनाले अकालमा ज्यान गुमाएका थिए।
राजावादी समूहले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयसहित २२ वटा घर, भाटभटेनी सुपरमार्केट, विभिन्न सञ्चारगृह, सरकारी/निजी सवारीसाधनलगायतमा आगलागी र तोडफोड गरेको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उक्त हिंसात्मक प्रदर्शनीमा ३९ वटा सवारीसाधन तोडफोड भएका थिए।
राजावादी समूहको हिंसाबाट निजी र सार्वजनिक सम्पत्ति समेत गरेर ४६ करोड ९५ लाख क्षति भएको प्रारम्भिक मूल्यांकन गरिएका गृह मन्त्रालयले जनाएको छ।
विवादास्पद व्यवसायी दुर्गा प्रसाईं र पञ्चनेता नवराज सुवेदीको नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनीमा संलग्नताको आरोपमा हालसम्म ७३ जना पक्राउ परेका छन्।
उनीविरुद्ध प्रहरीले राज्यविरुद्धको कसुर र आपराधिक उपद्रवविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ। क्षति भएको रकम बराबरको बिगो आरोपीसँग मागदाबी गर्ने प्रहरीको तयारी छ।
पूर्वराजाका समर्थकले तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनका लागि पूर्वअनुमति लिए पनि निषेधित क्षेत्र तोडेर निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत यातायातका सवारी साधनमाथि तोडफोड गरेका थिए।
घटनामा नेपाल प्रहरीका ५३ जना, सशस्त्र प्रहरी बलका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएको जिल्ला प्रहरी परिसर प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए।
प्रहरीले गैरकानुनी गतिविधिमा संलग्नमध्ये राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धबलशमशेर राणालगायतलाई पक्राउ गरेको छ। ध्बलशमशेरलाई भने क्यान्सर उपचारका लागि वैशाख ६ मा रिहा गरिएको छ।
प्रहरीले चैत २९ मा राजावादी आन्दोलनका मुख्य कमान्डर दुर्गा प्रसाईंलाई भारतबाट पक्राउ गरी काठमाडौं ल्याएको छ। प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो।
प्रसाईंलाई काठमाडौं ल्याउनासाथ प्रहरीले जिल्ला अदालतमा पेस गरेकामा १२ दिन हिरासतमा राख्न अनुमति पाइसकेको छ।