काठमाडौं। काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरणका लागि प्रक्रिया सुरु गरेको छ।
आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौँ महानगरपालिका–१६ अन्तरगत बालाजु, बसपार्क, चापाकोट, च्याङली, लाजिम्पाट, बेलकोटे, शिवपुरी, खोकन तथा नागार्जुन नगरपालिकाअन्तरगतको वडा–१ र २ का कागेश्वरी मनोहरा, नागार्जुन वन, वृन्दावन महादेवलगायत क्षेत्रमा मेलम्चीको पानी वितरणका लागि प्रक्रिया सुरु गरेको हो।
काठमाडौं उपत्यकामा पानीको आपूर्तिमा थप सुधार गर्नु र नागरिकलाई सफा र प्रशोधन गरिएको पानी उपलब्ध गराउने उद्दश्यले बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानीवितरणका लागि प्रक्रिया सुरु गरिएको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख टीकाबहादुर चौधरीले जानकारी दिए।उनले भने, ‘काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण अभियान र मन्त्रीज्यूको निर्देशनपछि उक्त कार्यका लागि बोलपत्रसमेत आह्वान गरेका छौँ। नागरिकलाई सफा र प्रशोधन गरिएको पानी उपलब्ध गराउने हाम्रो उद्दश्य हो।’
वितरण सञ्जाल सुधार कार्य, रिङ रोड, बलाजुअन्तरग कुल पाइप लम्बाइ तीन हजार आठ सय ११ मिटर रहने जनाइएको छ। बालाजु ट्यांकीबाट नागरिकलाई सफा र प्रशोधन गरिएको पानी आपूर्ति गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ।
उक्त सेवा सञ्चालन पश्चात मेलम्ची परियोजनाअन्तर्गत २७० मिलियन लिटर पानी प्रतिदिन काठमाडौँको विभिन्न भागमा आपूर्ति गर्न सकिने अनुमान गरिएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका अनुसार पानी वितरणमा आएको ढिलाइलाई अब अन्त्य गर्दै काठमाडौँमा पानी आपूर्ति प्रक्रिया व्यवस्थित रूपमा अघि बढाएर उपत्यकाभित्रको पानी संकटलाई समाधान गर्न मद्दत पु¥याउने खानेपानी मन्त्रालयले जनाएको छ।
उक्त प्रक्रिया सुचारुसँगै काठमाडौं महानगरपालिका बालाजु र नागार्जुन नगरपालिकाका नागरिकले आगामी दिनमा नियमित रूपमा मेलम्चीको प्रशोधित पानी प्राप्त गर्नेछन्।