काठमाडौं। गत आर्थिक वर्ष २०८२/८३ मा नेपालले भारत र बंगलादेशमा ११ अर्ब ८६ करोड ६० लाख रुपैयाँ बढीको विद्युत निर्यात गरेको छ। आर्थिक वर्ष २०८१/८२ को तुलनामा गत आवमा यी दुई देशमा नेपालले उक्त बढी रकमको विद्युत् निर्यात गरेको हो। आर्थिक वर्ष २०८१/८२ को तुलनामा गत आवमा ६७.९६ प्रतिशतले बढी निर्यात हो।
नेपाल विद्युत प्राधिकरणका अनुसार गत आवमा यी दुवै देशमा २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँको विद्युत् निर्यात भएकोमा आर्थिक वर्ष २०८१/८२ मा १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँको विद्युत् निर्यात गरेको थियो।
यसैगरी, गत आवमा नेपालले १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँको विद्युत आयात गरेको छ। नेपालले विद्युत व्यापारबाट गत वर्ष १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद बचत गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस्तो बचत ४ अर्ब ५३ करोड ५७ लाख रुपैयाँमात्र थियो।
अघिल्लो आवका तुलनामा गत वर्षको बचत ३१३ प्रतिशत (करिब ४ गुणाभन्दा बढी) ले वृद्धि भएको हो। अघिल्लो वर्षको तुलनामा निर्यात परिमाणमा पनि ६२.८९ प्रतिशतले वृद्धि भएको छ। गत आवमा निर्यात परिमाण ३ अर्ब ८७ करोड ७४ लाख ९२ हजार ५६४ युनिट (किलोवाट आवर) पुगेको छ।
जबकि, आव २०८१/८२ मा २ अर्ब ३८ करोड २ लाख ९६ हजार ७१५ युनिट विद्युत निर्यात भएको थियो। गत आवमा नेपालले भारतीय खुला बजार (भारतीय ऊर्जा विनिमय बजार-डे अहेड, रियल टाइम मार्केट र विद्युत व्यापार कम्पनी एनभीभीएन) र बंगलादेशसँगको त्रिपक्षीय व्यापारमार्फत औसत ७.५६ रुपैयाँ प्रतियुनिटका दरले बिजुली बिक्री गरेको हो।
निर्यात आम्दानीमा वृद्धि हुँदा बाह्य स्रोतबाट हुने विद्युत आयात भने उल्लेख्य रूपमा घटेको छ। गत आवमा १ अर्ब १४ करोड ९८ लाख युनिटमात्र आयात गर्नु परेको छ। आयात गर्दा १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँ बाहिरिएको छ। जबकि, अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ६८ करोड ४ लाख युनिट विद्युत आयात गरिएको थियो। यो विद्युत आयात गर्दा १२ अर्ब ९२ करोड ३० लाख रुपैयाँ बाहिरिएको थियो।
यसका अनुसार अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा २ अर्ब ३६ करोड ३१ लाख रुपैयाँ कम बाहिरिएको छ। यो अघिल्लो वर्षको तुलनामा १८.२९ प्रतिशतले न्यून हो।
परिमाणको हिसाबले पनि ३१.५७ प्रतिशतले आयात घटेको तथ्यांकले देखाउँछ। नेपालले आयात गर्ने विद्युतको मूल्य प्रतियुनिट ९.१८ रुपैयाँ रहेको छ। यो निर्यातको तुलनामा प्रतियुनिट १.६२ रुपैयाँ महँगो हो।
त्यस्तै, असारमा प्रतियुनिट ८३.२६ रुपैयाँको दरले विद्युत खरिद गरेको छ। यो दरमा प्राधिकरणले ४५ लाख ६१ हजार २९४ युनिट खरिद गरेको छ। सबैभन्दा न्यून मूल्य भने टनकपुर सन्धिअनुसार प्राप्त गर्ने प्रतियुनिट ४.७५ रुपैयाँ रहेको छ।
निर्यात गर्दा भने सबैभन्दा न्यून मंसिर महिनामा प्रतियुनिट ५.४७ रुपैयाँ र अधिकतम माघ महिनामा १५.४० रुपैयाँमा बिक्री गरेको छ। प्राधिकरणले देशभित्रै जलविद्युत उत्पादनमा भएको वृद्धि, सीमापार प्रसारण लाइनको विस्तार र प्रभावकारी ऊर्जा व्यवस्थापनका कारण नेपाल एक नाफामूलक ऊर्जा निर्यातक राष्ट्रको रूपमा स्थापित भएको जनाएको छ।