खोटाङ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महुरे–फोक्सिङटार सडक कालोपत्रेको शुभारम्भ रेका छन्। तत्कालीन प्रधानमन्त्री स्व. मनमोहन अधिकारीले २०५१ मा शिलान्यास गरेको सडक आइतबार मन्त्री दाहालले औपचारिक रूपमा कालोपत्रे सुरु गरेका हुन्।
दिक्तेल–गाईघाट सडक खण्डको फोक्सिङटारदेखि सिम्पानीसम्म र सिम्पानीदेखि महुरेसम्मका सडक कालोपत्रका लागि सरकारले ८६ करोड बजेट उपलब्ध गराएको गाईघाट–दिक्तेल सडक आयोजना प्रमुख इन्जिनियर पशुपति ज्ञवालीले जानकारी दिए।
उनका अनुसार पहिलो खण्डको सडक कालोपत्रे जिम्मा दिव्यज्योति कन्स्ट्रक्सन प्रालि धादिङले लिएको छ भने दोस्रो खण्डको सडक कालोपत्रको जिम्मा रायमाझी कन्ट्रक्सन प्रालि काठमाडौंले लिएको छ।
दिव्यज्योति कन्ट्रक्सन प्रालिले ४२ करोड लागतमा सम्पन्न गर्ने गरी २०८१ चैत १७ तथा रायमाझी कन्स्ट्रक्सन प्रालिले ४४ करोड लागतमा सम्पन्न गर्ने गरी २०८१ माघ २ मा सम्झौता गरेको हो।
दुवै सड कखण्ड चार वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएका छन्। फोक्सिङटारमा आयोजित सडक कालोपत्रे शुभारम्म कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दाहालले खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने यो सडक कालोपत्रेको काम समयमै सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गरे।
‘यो सडक तपाईंको व्यावसायिक काम मात्र नभई राज्यप्रतिको उत्तरदायित्व पनि हो। तपाईंले यो सडक कालोपत्रे समयमा सम्पन्न गर्नुहुनेछ। यसका लागि आवश्यक बजेट मन्त्रालयले अभाव हुन दिने छैन’, उनले भने, ‘कालोपत्रे समयमा सम्पन्न गर्न जनस्तरबाट पनि खबरदारी आवश्यक छ। यो सडक दुई लेनको बन्नेछ। सडक बनाउन मन्त्रालय प्रतिबद्ध रहेको छ।’
मन्त्री दाहालले सुनकोसीस्थित फोक्सिङटारको पक्की पुल पुनःनिर्माणमा मन्त्रालय प्रतिबद्ध रहेको पनि बताए। गत असोज १२ को बाढीले बगाएको पक्की पुल निर्माण गर्न अर्थ मन्त्रालयले ३५ करोड बजेट सुनिश्चित गरिसकेको र आगामी डेढ वर्षभित्रै फोक्सिङटारपुल पुनःनिर्माण हुने उनको भनाइ छ।
यो सडक यसअघि पनि कालोपत्रे सुरु गरिएको थियो। ठेकेदारको चरम लापरबाहीले समयमा सम्पन्न नभएपछि मन्त्रालयले ठेक्का तोडेर अर्को ठेकेदार कम्पनीसँग सम्झौता गरी पुनः कालोपत्रे सुरु गरेको हो।-रासस