काठमाडौं। नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्युत खपत गर्ने र नियमित रूपमा महसुल बुझाउने ग्राहकलाई सम्मान गरी विशेष सुविधा प्रदान गरेको छ।
प्राधिकरणले उपभोक्तासँगको हार्दिकतापूर्ण सम्बन्धलाई थप उचाई दिन र हरित ऊर्जाको खपत बढाउन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको नेतृत्वमा यो रणनीति लागू गर्न थालेको हो।
उपभोक्ता प्रोत्साहनको सुरुवात बिहीबार कोशी प्रादेशिक कार्यालयबाट गरिएको छ। कार्यालयबाट भइरहेको सेवा प्रणालीगत सुधार निरीक्षण गर्न, त्यससम्बन्धी आवश्यक निर्देशन दिन कोशी पुगेका कार्यकारी निर्देशक शाक्यले गत वर्षभर सर्वाधिक बिजुली प्रयोग गर्ने तथा नियमित महसुल तिर्ने १० जना उपभोक्तालाई सम्मान गरेका हुन्।

सम्मानित भएपछि नियमित महसुल बुझाइरहेका सर्वाधिक ऊर्जा खपतकर्ता उद्योग व्यवसायीले यसबाट प्राधिकरण र उद्योगीबीचको सम्बन्ध सुमधुर हुन गएको प्रतिक्रिया दिएका छन्।
कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक शाक्यले प्राधिकरणले आफ्नो सेवा विस्तारको पहिलो कडीका रूपमा प्रोत्साहन कार्यअघि बढाएको बताए। उद्योगी व्यवसायी देशको अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै उनले ऊर्जा संचार गरिररहेको प्राधिकरण र खपतकर्ता उद्योगीबीच सौहार्दपूण, विश्वसनीय र निकट सम्बन्ध हुनुपर्नेमा जोड दिए।
उनले भने, ‘उद्योग फस्टाए उर्जाको माग बढ्छ, प्राधिकरण फस्टाउँदा उद्योगले गुणस्तरीय, निरन्तर र भरपर्दो सेवा प्राप्त गर्न सक्छन्, दुवै क्षेत्रको विकासबाट देशमा ठूलो टेवा पुग्छ।’
सम्म्मनितका तर्फबाट बोल्दै उद्योगीको छाता संगठन नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवन शारदाले पहिलोपटक उद्योगी व्यवसायीलाई सम्मान गरेर प्राधिकरणले आफूहरूलाई गौरवान्वित बनाउनुका साथै हौसलासमेत बढाएको बताएका छन्।

निजी क्षेत्र नाफामुखी मात्रै नभई रोगजारी सृजना गर्ने निकाय भएको बताउँदै उनले यसले कुल गार्हस्थ उत्पादनसहित समग्र देशको अर्थिक उत्थानमा पुर्याएको योगदानलाई सबै निकायले सम्मान गर्नुपर्ने बताए।
प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले कार्यकारी निर्देशक शाक्यको ग्राहकसँग सुमधुर सम्बन्ध बनाउने एजेन्डाअन्तर्गत पहिलो कदमका रूपमा कोशी प्रदेशबाट ग्राहक सम्मान कार्यक्रम थालिएको बताएका थिए।