काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले गैरआवासीय नेपालीलाई एकताबद्ध भएर सकारात्मक सोचका साथ अगाडि बढ्न आग्रह गरेकी छन्। जापान भ्रमणमा रहेकी राणाले नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा आयोजित स्वागत कार्यक्रममा यस्तो बताएकी हुन्।
उनले भनिन्, ‘संसारमा रहेका नेपाली डायस्पोरासँग धेरै ठूलो शक्ति छ। तपाईंहरू एकताबद्ध हुनुभयो भने आफ्ना अधिकारका लागि लड्न ठूलो तागत मिल्नेछ। त्यसैले मेरो आग्रह छ, सानातिना कुरामा नअल्झिनुस्, एउटै एनआरएनए बनाउन लाग्नुस्।’
मन्त्री डा राणाले सर्वाेच्च अदालतको परमादेशको पालना गरेरै सरकारले हालै मात्र एनआरएनए महाधिवेशन सम्पन्न गर्न सहजीकरण गरेको र त्यसमा सहमतिबाटै नयाँ कार्यसमिति बनेको पनि स्पष्ट पारिन्। उनले विदेशमा आर्जन गरेको सीप, ज्ञान र पुँजीलाई नेपालको विकासमा लगाउन संसारमा रहेका नेपालीलाई आग्रह गरिन्।
आफू परराष्ट्रमन्त्री भएपछि विश्वमा रहेका नेपाली डायस्पोरालाई कन्सुलर तथा परराष्ट्रसँग सम्बन्धित अन्य आवश्यक सेवा पुगोस् भनेरै मन्त्रालयमा यससम्बन्धी अलग्गै महाशाखा स्थापना गरी काम अघि बढाएको जानकारी उनले दिइन्।
उनले भनिन्, ‘हामीले नेपाली डायस्पोराका साथै आर्थिक, कूटनीतिसम्बन्धी पनि अलग्गै महाशाखा स्थापना गरेर काम अघि बढाएका छौं। यसका लागि संसारमा रहेका सबै नेपालीको महत्त्वपूर्ण भूमिका रहन्छ र नेपाल सरकारले पनि सोही प्रकारको सहयोग अपेक्षा गरेको छ।’
समाजमा अहिले व्याप्त नकारात्मक सोच र विचारले देश नबन्ने उनको भनाइ छ। केही पनि हुँदैन र सम्भव पनि छैन भन्नेजस्ता नकारात्मक धारणा बनाउने र त्यसैलाई प्रचार गर्ने गरिएको प्रसंग उल्लेख गर्दै उनले यस्तो सोचले न समाज, न त देशकै विकास हुने उनले औंल्याइन्।
उनले यस्तो सोच देशभित्रका राजनीतिक पार्टी, नेपाली समाज र विदेशमा बस्ने नेपालीमा समेत रहेकाले यस्तो प्रवृत्ति त्यागेर देश निर्माणका लागि सकारात्मक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन्।