काठमाडौं। नेपाल विद्युत प्राधिकरणले विश्वसनीय विद्युत आपूर्तिका लागि सरोकारवाला निकायका गुनासा–समस्या सुन्ने, प्राविधिक समस्याहरुको जानकारी लिने तथा समस्याको पहिचान गर्ने अभियानको थालनी गरेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले त्यस्तो अभियानको सुरुवात कोशी प्रदेशबाट गरेको जानकारी दिए। बिहीबार कोशी प्रदेशको विराटनगरमा त्यहाँका उद्योगी, व्यवसायी र वितरण केन्द्रका प्रमुखहरुसँग छलफल गर्ने, त्यहाँ वरिपरिका सव–स्टेशन र वितरण केन्द्रको अनुगमन गर्ने जस्ता काममा मध्यरातसम्म आफू व्यस्त रहेको जानकारी शाक्यले दिए।
आर्थिक वर्ष २०८१ मा उच्चतम विद्युत खपत र नियमित महशुस भुक्तानीको आधारमा कोशी प्रादेशिक कार्यालय अन्तर्गतका उत्कृष्ट दश अत्यन्त महत्वपूर्ण उपभोक्तालाई सम्मान गर्ने कार्यक्रमका लागि विराटनगरमा आयोजित कार्यक्रममा पुगेका शाक्यले उक्त कार्यक्रमसँगै सरोकारवालाहरुसँग छलफल गरेका हुन्।
शाक्यले सामाजिक सञ्जालमा अनावश्यक रुपमा लोडसेडिङको हल्ला चलाइएको अवस्थामा विश्वसनीय विद्युत आपूर्ति गरेर त्यस्ता हल्लालाई निराधार बनाउन पनि आफू अभियानकै रुपमा गुनासो सुन्ने र तत्काल समस्याको समाधान खोज्ने गरी निस्किएको जानकारी दिए।
‘प्राधिकरणको प्रमुख ध्यान नै विश्वसनीय विद्युत आपूर्तिमा छ,’ शाक्यले भने,‘विराटनगरमा पनि बिहीबार मध्यरातसम्म सरोकारवालाहरुसँग डेडिकेटेड फिडर, विद्युतको विश्वसनियता, नियमित विद्यूत आपूर्तिलगायतका विषयमा केन्द्रित भएर छलफल गरेका छौँ।’
कार्यकारी निर्देशक शाक्यले उनीहरुले गरेका गुनासो ढुक्कसँग सुनेको भन्दै नियमित र विश्वसनीय विद्युत आपुर्तिमा प्राधिकरण प्रतिवद्ध रहेको भनी आश्वस्त पार्ने प्रयास गरेको समेत जानकारी दिए।
‘कोशी प्रदेशका सबै वितरण केन्द्रका प्रमुखलाई बोलाएर उहाँहरुको प्रगति विवरण, त्यहाँ देखिएको समस्या र समाधानका उपायहरुसँग केन्द्रित भएर छलफल गरेको छु,’ शाक्यले भने, ‘नियमित विद्युत आपूर्ति, विद्युतको विश्वसनीयता र ग्राहकको गुनासोलाई तत्काल सम्वोधन गर्न निर्देशन पनि दिएको छु।’