काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले मन्त्रालय र त्यसअन्तर्गतका निकायमा देखिएको कामप्रतिको ढिलासुस्ती र उदासिनता अन्त्य गर्न निर्देशन दिएका छन्।
ऊर्जा मन्त्रालयमा आइतबार आयोजित उच्चस्तरीय समीक्षा बैठकमा बोल्दै मन्त्री मन्त्री खड्काले कर्मचारीलाई सक्रिय, जिम्मेवार र समयानुकूल सेवा प्रवाहमा केन्द्रित हुन निर्देशन दिएका हुन्।
‘मन्त्रालय र अन्तर्गतका निकायमा फाइल रोकिएको गुनासो आएको छ, अबदेखि तीन दिनभित्र कुनै पनि फाइलको छिनोफानो हुने गरी प्रक्रिया अघि बढाउनुहोस्,’ उनले भने। उनले हालसम्म मन्त्रालयअन्तर्गतको समग्र प्रगति चित्त बुझ्दो नभएको भन्दै असन्तोष व्यक्त गरे।
कार्य सम्पादनमा पारदर्शिता, गति र उत्तरदायित्व कायम नगरेसम्म सेवा प्रवाह प्रभावकारी नहुने उल्लेख गर्दै मन्त्री खड्काले कर्मचारीलाई इमान्दारिता र कर्तव्यनिष्ठाका साथ आफ्नो जिम्मेवारी बहन गर्न आग्रह गरेका हुन्।
वर्षा ऋतु सुरु हुन लागेको सन्दर्भमा मन्त्री खड्काले जल तथा मौसम विज्ञान विभागलाई सूचनाको प्रभावकारी प्रवाहमार्फत जोखिम न्यूनीकरणमा जोड दिन निर्देशन दिए। ‘वर्षासँगै आउने सम्भावित जोखिमको समयमै सूचना प्रवाह गरी जनस्तरसम्म सर्तकता पुर्याउनु आवश्यक छ,’ उनले भने।
बैठकमा ऊर्जा, राज्यमन्त्री खमबहादुर गर्बुजा, उर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जिव बराल, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य तथा मन्त्रालयका सहसचिवलगायत सम्बन्धित निकायका उच्च अधिकारीको उपस्थिति रहेको थियो।