काठमाडौं। नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई तत्काल बर्खास्त गर्न माग गरी पत्र पेश गरेका छन्।
भ्रष्टाचारको आरोप लागेका गृहमन्त्री लेखक र पर्यटन मन्त्री पाण्डेलाई कुनै पनि हालतमा पदमा राखिराख्न नहुने उल्लेख गर्दै पार्टीको तर्फबाट फिर्ता बोलाएर कारबाही गर्न आग्रह गर्दै पार्टी सभापति एवंम संसदीय दलका नेता शेरबहादुर देउवालाई लिखित पत्र बुझाएका हुन्।
पार्टीको प्रतिष्ठा जोगाउन र संस्थागत शुद्धीकरण गर्न विवादमा मुछिएका तथा भ्रष्टाचार आरोप लागेका दुवै मन्त्रीलाई तत्काल बर्खास्त गर्न उनले पत्रमार्फत माग गरेका छन्।
उनले भनेका छन्, ‘म आग्रह गर्दछु, पार्टीको प्रतिष्ठा जोगाउन र संस्थागत शुद्धीकरण गर्न, विवादास्पद, भ्रष्टाचारमा मुछिएका वा कार्यक्षमतामा पूर्ण असफल मन्त्रीलाई तुरुन्त बर्खास्त गरियोस्।’
सांसद बजगाईंले गृहमन्त्री लेखकको सचिवालय मानव तस्करीमा संलग्न देखिनु गम्भीर संकट भएको औँल्याए। यस्तोमा गृहमन्त्रीको नैतिक जिम्मेवारी उठ्नुपर्ने र यो गृह मन्त्रालयको नेतृत्व मात्र नभएर गृह मन्त्रालयको संरचनाप्रतिको कानुनी प्रश्न पनि भएको उनको भनाइ छ।
लामो समयदेखि पर्यटन मन्त्री पाण्डेबारे प्रश्न उठाइरहेका सांसद बजगाईंले उनको पनि बर्खास्तीको माग गरेका छन्। उनले पत्रमा लेखका छन्, ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको नेतृत्वमा रहेको मन्त्रालयले देशको पर्यटन क्षेत्रलाई नै तहसनहस बनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था हेर्दा यस्तो लाग्छ कि त्यो ठाउँ तस्करहरूको केन्द्र बनेको छ। विमानस्थलभित्र रहेका दुकान, सेवा प्रदायक, लोडर, क्लिनिङ कम्पनी तथा अन्य धेरै आउटसोर्स कम्पनीका सञ्चालक नै सुन र विदेशी मुद्रा तस्करीमा संलग्न रहेको प्रमाणित भइसकेका मानिसको एप्रोन र जहाजसम्मै पहुँच हुने गर्दछ।’