काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले कुलेश्वरस्थित कालीमाटी नो–लाइट शाखामा स्थलगत निरीक्षण गर्दै उपभोक्ता गुनासो तथा वितरण व्यवस्थासम्बन्धी जानकारी लिएका छन्।
नो–लाइट शाखाअन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत आपूर्तिको समस्या, उपभोक्ता गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे जानकारी लिइसकेपछि मन्त्री खड्काले पत्रकारहरूसँग कुरा गर्दै केही महत्वपूर्ण निर्देशन र स्पष्टीकरण दिए।
मन्त्री खड्काले हाल देशमा उत्पादन भइरहेको विद्युतले माग पूरा गर्न पर्याप्त रहेको स्पष्ट पार्दै भने, “लोडसेडिङ हुँदैन, हुन दिइँदैन।” उहाँले केही समूह वा व्यक्तिहरूले नियोजित रूपमा बजारमा हल्ला फैलाइरहेको भन्दै त्यस्ता भ्रामक प्रचारको पछि नलाग्न आम जनसमुदायलाई अनुरोध गरे।
“विगतका वर्षहरूमा अहिलेभन्दा बढी समस्या देखिन्थ्यो,” उनले भने, “अहिलेको अवस्था तुलनात्मक रूपमा सहज छ। कतै असामान्य मौसम, हावा हुरी वा चट्याङका कारण केही क्षणको समस्या देखिए पनि त्यो चाँडै समाधान भइरहेको छ। अब ढुक्क हुनुस्, सबै कर्मचारी र निकाय जिम्मेवार भएर काम गरिरहेका छन्।”
मन्त्री खड्काले नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई उपभोक्ताप्रति जिम्मेवार र जवाफदेही भएर काम गर्न निर्देशन दिएका थिए।