काठमाडाैं। शौर्य सिमेन्टको आर्थिक सहयोगमा उदयपुरको कटारी नगरपालिका–७ मर्जेतपुरस्थित श्री सरस्वती आधारभूत विद्यालय र कटारी नगरपालिका–८ आहालेस्थित प्राथमिक स्वास्थ्य केन्द्रको उद्घाटन गरेकाे छ।
विद्यालय भवन उद्घाटनका लागि आयोजित कार्यक्रममा प्रमुख अतिथि कटारी नगरपालिकाका मेयर राजेश चन्द्र श्रेष्ठले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सशक्त बनाउने शौर्य सिमेन्टको यस्तो प्रयासलाई सराहना गरे।
उनले शौर्य सिमेन्टको सामाजिक उत्तरदायित्वले विद्यालयको संरचना बनेको बताउँदै अब संरचना जस्तै शैक्षिक गुणस्तर सुधार्न आवश्यक रहेको भन्दै त्यसका लागि अभिभावकको सक्रियता जरुरी रहेको बताए।
उक्त कार्यक्रममा सहभागि शौर्य सिमेन्टका सिनियर भाइस प्रेसिडेन्ट राजन झाले सामाजिक उत्तरदायित्वलाई स्थानीय तहसँग सहकार्य गरेर अघि बढाइएको जनाउँदै भने, “देशको समृद्धिका लागि आर्थिक र राजनीतिक क्षेत्र दुवै सबल हुनुपर्छ।”
उनले कम्पनीले निर्माण क्षेत्रमा हुने असर न्यूनीकरणका लागि इन्जिनियरको टोली खटाएर अध्ययन र समाधानको प्रयास गरिरहेको पनि बताए।
विद्यालयका प्रधानाध्यापक जयबहादुर तामाङले कम्पनीले २०५६ सालदेखि विद्यालयलाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै विद्यालय परिवारको तर्फबाट सम्मान गरेका थिए। “शिक्षक व्यवस्थापनदेखि भौतिक सामग्रीसम्ममा सहयोग पाएका छौं,” उनले भने।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीमबहादुर मगरले पनि उद्योगको निरन्तर सहयोगप्रति आभार प्रकट गरे। कार्यक्रममा उद्योगले विद्यार्थीहरूलाई खेल तथा शैक्षिक सामग्री वितरण गर्नुका साथै सहभागी अतिथिलाई मायाको चिनो प्रदान गरेको उद्योगका ब्रान्ड प्रबन्धक अनुज महतले जानकारी दिए।
साेही दिन वडा नम्बर ८ मा निर्माण सम्पन्न भएको प्राथमिक स्वास्थ्य केन्द्र भवन पनि हस्तान्तरण गरिएको हो। नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सुरेश दाहालले भवन हस्तान्तरणसँगै सेवा विस्तार सुरु हुने जानकारी दिए।
