काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री दीपक खड्काले विद्युत विधेयकलाई एक महिनाभित्र संसदबाट पास गर्ने गरी सरकारले काम गरिरहेको बताएका छन्।
निजी ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपालले सोमबार बेलुकी आयोजना गरेको ‘इप्पान डेभलपर्स मिट–२०२५’ मा उनले विद्युत विद्येयकलाई चाँडो संसदबाट पास गर्ने गरी सरकारले काम गरिरहेको जानकारी दिएका हुन्।
‘निजी क्षेत्रका समस्यालाई सम्बोधन गर्ने गरी ल्याउन लागिरहेको विद्युत विद्येयकलाई अगाडि बढाउन रातदिन नभनी काम गरिरहेका छौं। एक महिनाभित्र संसदबाट पास हुन्छ’, मन्त्री खड्काले भने।
मन्त्री खड्काले मन्त्रालयले ऊर्जा उत्पादनका क्रममा देखिएका बाधा व्यवधानलाई चिरेर काम गर्न लागिरहेको बताए। ‘यो डेभलपर्सको मात्र समस्या होइन, मुलुककै समस्या हो, यो समस्याबाट माथि उठ्न सकिएन भने मुलुक नै समस्यामा पर्छ’, उनले भने।
सरकारले निजी क्षेत्रलाई साथमा लिएर ऊर्जा क्षेत्रको विकास गर्ने भनेर २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्यलाई पूरा गर्न ऊर्जा उत्पादकको महत्वपूर्ण भूमिका रहेको बताए। उनले ऊर्जा उत्पादनका क्रममा आउन सक्ने विपत्तिका कारण हुने समस्या समाधान गर्न सरकार गम्भीर रहेको उल्लेख गरे।
ऊर्जासचिव सुरेश आचार्यले सरकारले ल्याएको उर्जा विकास मार्गचित्रलाई कार्यान्वयन गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए।
विद्युत विकास विभागका महानिर्देशक नवीनराज सिंहले प्रसारण लाइन निर्माणमा समेत निजी क्षेत्रलाई समावेश गरिएकाले सरकारले राखेको उmर्जा विकासको लक्ष्य पूरा गर्न सहज हुने धारणा राखे।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा विकास मार्गचित्रलाई कार्यान्वयन गर्न सरकारले भर्खरै विद्युत खरिद सम्झौता (पीपीए)लाई अगाडि बढाएको बताए।
इप्पानका अध्यक्ष गणेश कार्की, वरिष्ठ उपाध्यक्ष मोहन डाँगीलगायतले उर्जा विकास मार्गचित्रलाई कार्यान्वयन गर्न शक्तिशाली निकाय आवश्यक रहेको धारणा व्यक्त गरे।