काठमाडौं। राष्ट्रिय गौरवको १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनाको हालै सम्पन्न बोलपत्र प्रक्रियामा गम्भीर अनियमितता भएको भन्दै छानबिनको माग गरिएको छ।
विभिन्न स्रोत र कागजातले बोलपत्रको मूल्यांकन प्रक्रियामा नियोजित पक्षपात, प्रक्रियागत उल्लंघन, नक्कली कागजातको प्रस्तुति र राष्ट्रिय स्रोतको दुरुपयोगको सम्भावना उच्च रहेको देखाएको छ।
नेपाली कम्पनी एएनके कन्स्ट्रक्सन कम्पनी प्रा.लि.(जेसीई-एएनके जेभी)ले शाङचेङ जलविद्युत परियोजना सफलतापूर्वक निर्माण गरेको दाबी गर्दै ठेक्काका लागि आवश्यक योग्यता मापदण्ड यसै परियोजनाबाट लिएको छ। तर, नक्कली फोटो, गलत जीपीएस समन्वय र अनलाइनमा नपाइने झुटा जानकारी पेश गरेको प्रमाणित भइसकेको छ। तसर्थ, यो आयोजना अस्तित्वमै नरहेको वा निर्माण नगरिएको देखिएको आरोप छ।
मूल्य प्रस्ताव खोल्ने तोकिएको मिति आउनुपूर्व आर्थिक प्रस्ताव सार्वजनिक भइसकेको दाबी गरिएको छ। गोप्य जानकारी चुहावटको आरोप कम्पनीमाथि छ। यस सम्पूर्ण प्रक्रियाले सार्वजनिक खरिद ऐन २०६३ र सम्बन्धित नियमको उल्लंघन गरेको कम्पनीमाथि आरोप छ। बोलपत्र प्रक्रियामा छानबिनको माग गरिएको छ।
तर, जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले जगदुल्ला पीआरओआर जलविद्युत आयोजनाअन्तर्गत लट नम्बर २ को सिभिल र हाइड्रो-मेकानिकल कार्यको ईपीसी (इन्जिनियरिङ, प्रोक्युरमेन्ट र कन्स्ट्रक्सन) ठेक्काका लागि १२ अर्ब १५ करोड रुपैयाँको ठेक्का सम्झौता गर्ने आशयको सूचना जारी गरेको छ।
कम्पनीले जेठ १३ गते प्रकाशित गरेको सूचनाअनुसार यो ठेक्का संयुक्तमा काम गर्ने चिनियाँ कम्पनी ज्याङ्सीले कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन लिमिटेड र नेपाली कम्पनी एएनके कन्स्ट्रक्सन कम्पनी प्रा.लि.(जेसीई-एएनके जेभी)लाई प्रदान गरिने भएको छ। सार्वजनिक खरिद ऐन, २०६३ सबैभन्दा कार्य मूल्यांकन गरी बोलपत्र पेश गरिएको जारी आशय पत्रमा उल्लेख छ।