काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ।
ऊर्जा मन्त्रालयमा भएको भेटमा दुई देशबीचको सहकार्य र मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना कार्यान्वयनबारे छलफल भएको हो।
भेटमा मन्त्री खड्काले एमसीसी परियोजनामार्फत अगाडि बढाइएका आयोजनाको काम निरन्तर अगाडि बढिरहे पनि एमसीसी केही समयदेखि होल्ड भएकाले अन्यौलता सिर्जना गरेको बताए। उनले एमसीसी परियोजना निरन्तर अगाडि बढ्ने र उर्जा क्षेत्रमा अमेरिकाको थप सहयोग हुने विश्वास व्यक्त गरे।
भेटमा राजदूत थम्पसनले नेपालको ऊर्जा क्षेत्रमा अमेरिकाको निरन्तर साथ र सहयोग रहने बताए। एमसीसी परियोजनालाई अगाडि बढाउन हरसम्भव पहल र प्रयास भइरहेको उनको भनाइ थियो।
उनले अहिले एमसीसीअन्तर्गत अगाडि बढाइएका आयोजनालाई निरन्तर अगाडि बढाउन नेपाल सरकारको तर्फबाट गरिनुपर्ने सहयोगका लागि आग्रह गरे।
एमसीसीअन्तर्गत सञ्चालित एमसीए परियोजनाका लागि अमेरिकाले ५०० मिलियन डलर र नेपालले १९७ मिलियन डलर खर्च गर्ने सम्झौता भएको थियो।
उक्त परियोजनाअन्तर्गत लप्सीफेदी–रातमाटे, रातमाटे–दमौली, दमौली–बुटवल र बुटवल–नेपाल–भारत सीमासम्म (गोरखपुर) ४०० केभी प्रसारण लाईन र सम्बद्ध सवस्टेशनहरु निर्माण हुनेछ। भेटमा एमसीसी तथा एमसीएका प्रतिनिधी तथा मन्त्रालयका उच्च अधिकारीहरुको सहभागीता रहेको थियो।