काठमाडौं। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सहरी तथा संवेदनशील भू-बनोट भएका क्षेत्रमा गुणस्तरीय र दिगो सडक निर्माणका लागि सिमेन्ट कंक्रिट सडक (आरसीसी)लाई प्राथमिकता दिने सरकारी योजनाले सिमेन्ट उद्योगी उत्साहित भएका छन्।
सिमेन्ट, छड, गिट्टी र बालुवा प्रयोग गरी आरसीसी ढलानसहित बनाउने सडकले स्वदेशी निर्माण सामग्रीको खपत बढ्ने देखिएका हो। यसले उद्योगी उत्साहित भएको हो। यसका साथै सडक पूर्वाधार टिकाउ हुने विश्वास गरिएको छ।
नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले आगामी बजेटमा आरसीसी सडक निर्माणको घोषणाले सिमेन्टको माग बढ्ने बताए। यसले अर्थतन्त्रलाई चलायमान बनाउने उनको तर्क छ। सिमेन्टको माग बढाएर समग्र अर्थतन्त्रलाई चलायमान बनाउने उनको विश्वास लिँदै उनले भने, ‘हामी धेरै उत्साहित भएका छौँ। आरसीसीबाट रोड बनाउने भनेर उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल ज्यूले घोषाण गर्नु भएको छ, सिमेन्टको माग बढ्छ, यसले आर्थिक चलायमान बढाउँछ।’
आरसीसी प्राविधिबाट सडक निमार्ण गर्दा स्वदेशी सिमेन्टलगायत उत्पादनको खपत बढ्नुका साथै गुणस्तरीय निर्माण हुने उनको तर्क छ। कालोपत्रे सडकभन्दा आरसीसी बलियो हुन्छ। उद्योगी राजेश कुमार अग्रवालले सुरुवाती लागत महँगो देखिए पनि दीर्घकालीन रूपमा यस्ता सडक सस्तो पर्ने बताए।
कालोपत्रेभन्दा सिमेन्ट सडकको आयु लामो हुन्छ। यसको समयावधि लामो हुने भएकाले मर्मत खासै गर्नु नपर्ने उनी बताउँछन्। ‘एक सय किलोमिटर बिटुमिन अर्थात अलकत्र सडक बनाउनुभन्दा ८० किलोमिटर आरसीसी सडक बनाउनु राम्रो हुन्छ,’ उनी भन्छन्, ‘किनकी आरसीसीबाट एक पटक सडक बनेपछि ४० वर्षसम्म ढुक्क हुन्छ। एक किलोमिटर अलकत्र सडकलाई ८ देखि ९ करोड लाग्छ। आरसीसी सडकलाई १३ करोडसम्म लागत लाग्छ।’
आरसीसी प्रविधिबाट सडक बनाउँदा छड, सिमेन्ट, गिट्टीलगायत सबै स्वदेशी निमार्ण सामाग्री प्रयोग हुने भएकाले आत्मनिर्भरता बढाउँछ।
आरसीसी सडकमा इन्धन खपत १४ प्रतिशत कम हुने, सडक तातेर सवारी साधनका टायर छिटो नफुट्ने र सडक सेतो हुने भएकाले रातको समयमा दुर्घटनाको जोखिम कम हुने उद्योगीहरू बताउँछन्।
निर्माण व्यवसायी राजेश कुमार आग्रवालाले आरसीसी सडकका धेरै फाइदा हुने बताए। उनका अनुसार, बिटुमिन (कालोपत्रे) विदेशबाट आयात गर्नुपर्ने भए पनि आरसीसी सडकमा प्रयोग हुने छड, सिमेन्ट र गिट्टी स्वदेशी हुन्छ। अहिले पहाडका केही सडक एकातिर निर्माण भइरहने अर्कोतिर भत्किँदै गइरहने अवस्था छ।
पहाडी क्षेत्रमा भू-क्षय र बढी पानी पर्ने समस्याले अलकत्रको सडक उपयुक्त नहुने उनको तर्क छ। लागतको हिसाब गर्दा १०० रुपैयाँमा बिटुमिन सडक बन्ने भएमा आरसीसी सडक १३० देखि १३५ रुपैयाँमा तयार हुने उनी बताउँछन्।
‘सुरुवाती लागत ३० देखि ३५ प्रतिशत महँगो भए पनि बिटुमिन सडकको आयु ८ देखि १० वर्ष हुँदा आरसीसी सडकको आयु ३० देखि ४० वर्ष हुने भएकाले दीर्घकालीन रूपमा आरसीसी सडक सस्तो पर्छ,’ उनले भने।
आरसीसी प्रविधिबाट सडक बनाउँदा छड, सिमेन्ट, गिट्टीलगायत सबै स्वदेशी निमार्ण सामाग्री प्रयोग हुने भएकाले आत्मनिर्भरता बढाउँछ। यसका साथै छड, सिमेन्ट, गिट्टी क्षेत्रका उद्योगको कारोबार बढ्न गई अर्थतन्त्र चलायमान हुने उद्योगी बताउँछन्। उद्योगीले बजेटअगाडि आरसीसी सडक निमार्णमा सरकारसमक्ष लबिङ गरेका थिए।