काठमाडौँ। भारतमा राष्ट्रिय योग्यता अर्थात नक्कली नीट परीक्षाका प्रश्न पत्रहरू प्रवाह भएको आशंकामा भारत सरकारले लगाइएको अस्थायी प्रतिबन्ध जुन २२ को मध्यरातदेखि समाप्त भएपछि मेसेजिङ एप टेलिग्राम गुगल प्ले स्टोरमा पुन उपलब्ध भएको छ।
भारतमा मेडिकल विषय अध्ययन गर्न चाहाने विद्यार्थीका लागि लिईने प्रवेश परीक्षा हो। नीट परीक्षा प्रक्रियासँग जोडिएका नक्कली प्रश्नपत्रको बाहिरिएपछि, भ्रामक सूचना र अन्य ठगीपूर्ण गतिविधिहरू रोक्न असफल भएको आरोप लागेपछि त्यहाँको केन्द्र सरकारले टेलिग्राम र त्यससँग सम्बन्धित वेब सेवाहरूलाई अस्थायी रूपमा निलम्बन गर्ने आदेश दिएको थियो।
एन्ड्रोइड डिभाइस प्रयोगकर्ताका लागि गुगल प्ले स्टोरमार्फत यो एप पुनः उपलब्ध भए पनि मंगलबार बिहान केही समय एप्पलको एप स्टोरमा भने यो उपलब्ध थिएन। पहुँच पुनस्र्थापनामा भएको ढिलाइबारे सोधिएका प्रश्नहरूको एप्पलले तुरुन्तै कुनै प्रतिक्रिया जनाएको थिएन।
प्रतिबन्ध लगाउनुअघि सरकारी अधिकारीहरूले जुन ३ मा टेलिग्रामका प्रतिनिधिहरूसँग छलफल गरेका थिए। जसमा परीक्षासम्बन्धी भ्रामक सूचना फैलाउन सो प्लेटफर्मको भूमिकालाई लिएर चिन्ता व्यक्त गरिएको थियो। बैठकपछि अधिकारीहरूले जुन २२ सम्मका लागि एप र यसको वेब संस्करण ब्लक गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
सरकारले थप सतर्कता अपनाउँदै टेलिग्रामलाई जुन ३० सम्म आफ्नो मेसेजएडिटिङ अर्थात सन्देश सच्याउने फिचर निष्क्रिय राख्न समेत निर्देशन दिएको हो। अधिकारीका अनुसार जुन २१ मा सञ्चालन गरिएको नीटको पुन परीक्षा कुनै पनि किसिमको अमर्यादित गतिविधि वा अनियमितता बिना सम्पन्न भएको भारतीय सञ्चारमाध्यम द पायोनियरले उल्लेख गरेको छ।
यस्तै, टेलिग्रामका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत पाभेल डुरोभले भने केही सीमित प्रयोगकर्ताहरूको गल्तीका कारण सिगो प्लेटफर्मलाई दण्डित गरिएको भन्दै प्रतिबन्धको आलोचना गरेका थिए।