काठमाडौं। नेपालमा चिनियाँ प्रिमियम इलेक्ट्रिक सवारी साधन ब्रान्ड ‘स्काईवेल र स्काईवर्थ’ आयात गरी बिक्री गर्दै आएको जी मोटर्ससँगको आधिकारिक बिक्रेता सम्झौता खारेज भएको छ। स्काईवेलको उत्पादक कम्पनी ‘जियान्सु स्काईवेल अटोमोबाइल कम्पनी लिमिटेड’ले जी मोटर्ससँगको आधिकारिक बिक्रेता सम्झौता खारेज गरेको हो।
स्काईवेलको उत्पादक कम्पनी ‘जियान्सु स्काईवेल अटोमोबाइल कम्पनी लिमिटेड’ले जुन ५, २०२६ देखि लागू हुने गरी जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट औपचारिक रूपमा हटाएको जानकारी दिएको हो।
कम्पनीको अन्तर्राष्ट्रिय मार्केटिङ विभागका प्रतिनिधि ह्वाङ युले बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पठाएको इमेलमा नेपालमा स्काईवेल र स्काइवर्थ ब्रान्डका सवारी साधन आयात तथा बिक्री गर्दै आएको जी मोटर्स अब कम्पनीको आधिकारिक डिलर नरहेको उल्लेख गरिएको छ। कम्पनीले आवश्यक परे थप जानकारी उपलब्ध गराउन सकिने पनि जनाएको छ। यो विषयमा थप जानकारी लिन जी मोटर्सका प्रवन्ध निर्देशक कैलाशबाबु गेलाललाई फोन गर्दा उनको फोन उठेन।
जी मोटर्सले २०८१ को सुरुवातमै स्काईवेल ब्रान्डलाई नेपाल भित्राएको थियो। प्रिमियम फिचर, लङ रेन्ज र प्रविधिका कारण यसले नेपाली ईभी बजारमा सुरुवाती चरणमा राम्रो चर्चा कमायो। स्काईवेलले नेपाली बजारमा प्रवेश गर्दा नेपालमै सबैभन्दा बढी रेन्ज दिने ईभीको रुपमा यो ब्रान्ड परिचित थियो। कम्पनीले स्काईवेलको पहिलो मोडलको रुपमा ईटी ५ नेपाली बजारमा ल्याएको हो।
जी मोटर्सले नेपालमा स्काईवेल ब्रान्डलाई स्थापित गर्न आक्रामक रूपमा शोरुम र नेटवर्क विस्तार गरिरहेको थियो।
अहिले स्काईवेलका नेपाली बजारमा बीई११ का दुई भेरिएन्ट र ईटी५ गरी स्काईवेलका दुई मोडल तीन भेरियन्टमा उपलब्ध छन्। यी ईभीले ४१०, ५२० र ६२० किलोमिटर रेन्ज दिने कम्पनीले दाबी गर्दै आएको छ।
जी मोटर्सले नेपालमा स्काईवेल ब्रान्डलाई स्थापित गर्न आक्रामक रूपमा शोरुम र नेटवर्क विस्तार गरिरहेको थियो। हाल स्काइवेलको भक्तपुर राधेराधे र इटहरीमा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा रहेको छ भने राधेराधे, नक्साल, विराटनगर, इटहरी, चितवन र पोखरामा बिक्री कक्षा सञ्चालन छन्।
यस विषयमा जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालसँग जानकारी लिन खोज्दा उनको फोन उठेन।
ब्राण्ड लिन आधा दर्जन कम्पनी लाइनमा
‘जियान्सु स्काईवेल अटोमोबाइल कम्पनी लिमिटेड’ले अब नेपालका लागि नयाँ आधिकारिक आयातकर्ता वा वितरक को हुने? भन्ने विषयमा हालसम्म कुनै औपचारिक घोषणा गरेको छैन। हालसम्म आधा दर्जनभन्दा बढी कम्पनीहरुले स्काईवेलको गाडीको आधिकारीक ब्राण्ड लिनका लागि पहल गरिरहेका छन्।
पछिल्लो समय चिनियाँ गाडीहरुको दबदबा रहेको बेला स्काईवेलको गाडीका लागि धेरै अटो कम्पनीहरुले इच्छा व्यक्त गर्दै आफ्नो व्यापारिक पोलिसि पठाइरहेको जनाएको छ।