काठमाडौं। यो वर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने अनुमान गरिएसँगै सडक सञ्जालमा हुने जोखिम झनै बढ्ने देखिएको छ। सरकारले सम्भावित जोखिमलाई न्यूनिकारण गर्न तयारी गर्नुपर्ने देखिएको छ।
पूर्वाधार विकास समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा सांसदले वर्षाका कारणले प्रभावित हुने सडक सञ्जालबाट हुने जोखिमलाई न्यूनिकरण गर्न पूर्वतयारी गर्नुपर्ने जोड दिएका थिए।
सांसद प्रकाश चौलागाईंले पूर्वपश्चिम राजमार्ग बन्द रहेको जानकारी गराउँदै वर्षाले हुने क्षति कम गर्न सरकारले कस्ता खालको पूर्वतयारी गरेको प्रश्न गरेका थिए। ‘बाढी वर्षा भएर पुर्याउने देखिन्छ,सरकारले के तयारी गर्दै छ?’ उनले भने।
सांसद गोकर्ण विष्टले मनसुनको तयारी सरकारले तत्काल गरेमा जोखिम कम गर्न सकिने बताए। ‘वर्षाबाट हुने जोखिमलाई कम गर्न सूचना प्रवाहमा ध्यान दिनुपर्छ,’ उनले भने।
जल तथा मौसम विज्ञान विभागका अनुसार जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ। नेपालमा यो वर्ष १५ दिनअगावै मनसुन भित्रिएको हाे। नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने हुन्छ। तर,यो वर्ष जेठ १५ गते बिहीबार रातिबाट नेपालको पूर्वबाट मनसुन प्रवेश गरेको विभागले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ।
यस मनसुनमा कर्णाली प्रदेशको पूर्वी भू–भाग, लुम्बिनी प्रदेशको उत्तरी भू–भाग र गण्डकी प्रदेशको अधिकांश भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ।
यस्तै, सुदूरपश्चिम प्रदेशको दक्षिणी भू–भाग,लुम्बिनी प्रदेशको पश्चिमी भू–भाग, गण्डकी प्रदेशको उत्तर–पूर्वी भू–भाग, बागमती र कोशी प्रदेशको उत्तरी भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५देखि ५५ प्रतिशत छ। यस्तै, मधेस प्रदेशका पूर्वी तथा दक्षिणी भू–भागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ। देशका बाँकी भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५देखि ४५ प्रतिशत छ।
नेपालका अधिकांश सडक पहाडी भेगमा बनेकाले मनसुनमा बढी दुर्घटना हुने गरेको छ। वर्षाका कारण माथिबाट पहिरो आउने, सडक तलको भिरमा पहिरो जाने, माटो कमलो भई सडक बिग्रने जस्ता समस्याहरू सामान्य हुन्।
धेरै सडकहरू खोलानालाको किनारमा बनेकाले वर्षा बढी हुँदा बगाउने जोखिम पनि उच्च रहन्छ। डाइभर्सनका सडकहरू कम चलाउ र कालोपत्रे नहुने हुँदा चिप्लो भई दुर्घटनाको जोखिम बढी हुन्छ। कम भिजिबिलिटी पनि दुर्घटनाको अर्को प्रमुख कारण रहेको ट्राफिक तथा यातायात इन्जिनियर आशिष गजुरेल बताउँछन्।
‘मनसुनमा पानी पर्दा नेपालमा बढी नै दुर्घटना हुने गरेको छ, कहिले सडक तलको भिरमा पहिरो जाने, कहिले सडक माथिको भिरमा पहिरो जाने हुन्छ,’ उनले धने, ‘धेरै सडकहरु खोलानालाका तिरमा बनेका छन्, वर्षा बढी हुँदा बगाउने गरेको छ। डाइभन्सन बनाउँदा कम चलाउमात्रै हुन्छ, यसले पनि जोखिमयुक्त यात्रा हुन्छ।’
कम भिजिबिलिटी पनि दुर्घटनाको अर्को प्रमुख कारण रहेको ट्राफिक तथा यातायात इन्जिनियर आशिष गजुरेल बताउँछन्।
मनसुनको समयमा बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि सडक पूर्वाधारको व्यवस्थापन, जनचेतना अभिवृद्धि र सवारी चालकको बानी परिवर्तनमा जोड दिनुपर्ने देखिएको छ। गजुरेलले यस सम्बन्धमा विशेष पहल गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
‘जोखिमयुक्त सडक खण्डहरूलाई समयमै मर्मत सम्भार गर्ने र आवश्यक परेको खण्डमा बन्द गर्ने व्यवस्था मिलाउनुपर्छ,’ उनी भन्छन्, ‘पूर्वाधारको निर्माण आजको भोलि सम्भव नहुने भए तापनि भइरहेका सडकहरूको उचित मर्मत र व्यवस्थापनले ठूलो फरक पार्छ।’
गजुरेलका अनुसार सवारी चालक तथा यात्रुहरूलाई मनसुनको समयमा कसरी सुरक्षित यात्रा गर्ने भन्नेबारे व्यापक जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ। पानी पर्दा सवारीसाधनको ग्रिप कम हुने, चिप्लो बाटो हुने र कम भिजिबिलिटीका कारण दुर्घटनाको जोखिम बढ्ने भएकाले यी पक्षहरूमा ध्यान दिएर सचेतना बढाउनुपर्छ।
‘सवारी चालकको बानीमा परिवर्तन ल्याउनु जरुरी छ।’ उनले भने, ‘तीव्र गतिमा सवारी चलाउने, पानी पर्दा सावधानी नअपनाउने जस्ता बानीले दुर्घटना निम्त्याउन सक्छ।’
ट्राफिक नियमहरूको प्रभावकारी चेकिङ गरी नियम उल्लंघन गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनुका साथै, सडक कहाँ बिग्रिएको छ, कहाँ बाटो अवरुद्ध भएको छ भन्नेबारे अझै प्रभावकारी सूचना प्रणालीको विकास गर्नु पर्ने गजुरेल सुझाउँछन्।
‘यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा यात्रा स्थगित गर्न मद्दत पुग्छ र अनावश्यक जोखिमबाट बच्न सकिन्छ।’ उनी भन्छन्।
गजुरेलले यी उपायहरू अपनाउन सकेमा मनसुनमा सडक सञ्जालमा हुने दुर्घटना र क्षतिलाई केही हदसम्म कम गर्न सकिने बताए। सडक सुरक्षाका लागि सरकार र नागरिक दुवैको सक्रिय सहभागिता अपरिहार्य रहेको उनको भनाइ छ। वडा तहमा कार्यरत जनप्रतिनिधीलाई बाढी पहिरोबारे पूर्वसूचना सम्प्रेषण गर्न सके सम्भावित क्षति न्यूनीकरण गर्न सकिने उनको तर्क छ।
मनसुनमा सम्भावित जोखिमलाई न्यूनीकरण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयारी गरिरहेको जनाएको छ। मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीले मनसुन सुरु हुनुअगावै विभिन्न पूर्वतयारीका कार्यहरू भइरहेको जानकारी दिएका छन्।
सडक विभागले मनसुन सुरु हुनुअघि नै देशभरका प्रमुख सडकहरूको मर्मत सम्भार र स्तरोन्नतिको कार्यलाई तीव्रता दिएको छ।
मन्त्रालयले सम्भावित जोखिमको क्षेत्र पहिचान गरी आवश्यक उपकरणहरू (इक्विपमेन्ट) तयारी अवस्थामा राखेको छ। यो साताभित्रै ती उपकरणहरू सम्बन्धित स्थानमा पठाइनेछ। मनसुनमा बाढी, पहिरो, कटानजस्ता विपद्बाट हुने क्षति न्यूनीकरणका लागि मेकानिकल डिभिजनलाई सक्रिय बनाइएको अधिकारी बताउँछन्।
डोजर, एक्स्काभेटर, लोडरजस्ता भारी उपकरणहरू तयारी अवस्थामा राखिएको उनी बताउँछन्। ‘मनसुन सुरु हुनु अगावै सम्भावित क्षेत्रमा क्विपमेन्टहरु तयारी अवस्थामा राखेका हुन्छौँ।’ उनले भने।
सडक विभागले मनसुन सुरु हुनुअघि नै देशभरका प्रमुख सडकहरूको मर्मत सम्भार र स्तरोन्नतिको कार्यलाई तीव्रता दिएको छ। पहिरोको उच्च जोखिममा रहेका सडक खण्डहरूमा विशेष ध्यान दिइएको उनको भनाइ छ। साथै, विपद्को बेला तत्काल परिचालन गर्न सकिने गरी इन्जिनियर र प्राविधिकहरूको टोलीलाई पनि तयारीमा राखिएको छ।
जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा वर्षाको मात्रा र बाढीको सम्भावित जोखिमबारे पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाइएको छ। यसबाट समयमै सचेतना जारी गर्न सकिनेछ।
यस्तै, विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय सरकारहरूसँगको समन्वय र सहकार्यलाई प्राथमिकता दिइएको छ। स्थानीय स्तरमा आवश्यक पर्ने जनशक्ति र स्रोत साधनको व्यवस्थापनमा सहयोग गरिनेछ।
सर्वसाधारणलाई मनसुनमा अपनाउनुपर्ने सावधानी र विपद्को बेला सुरक्षित रहने उपायहरूबारे जानकारी गराउन विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ। प्रमुख राजमार्गहरू अवरुद्ध भएमा यातायात सञ्चालनमा पूर्ण रूपमा बाधा नपरोस् भनी वैकल्पिक मार्गहरूको पहिचान गरी तिनीहरूको मर्मत सम्भारमा पनि ध्यान दिइएको प्रवक्ता अधिकारीको भनाइ छ।
प्रवक्ता अधिकारीले नेपालको भू–बनावट र मनसुनको प्रकृतिले गर्दा सडक सञ्जालमा जोखिम पूर्ण रूपमा हटाउन कठिन भए तापनि सरकारको यस प्रकारको सक्रियताले सम्भावित क्षतिलाई न्यूनीकरण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको बताएका छन्।