काठमाडौं। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बनमा परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेकपा एसका अध्यक्षसमेत रहेका नेपालको सांसद पद निलम्बनमा परेको हो।
नेपाल राैतहटबाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।
पहिलो पटक मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचारविरुद्धको मुद्दा दर्ता भएको छ।
आज नेता नेपालसहित ९३ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ। उनीहरुलाई पतञ्जली जग्गा हिनामिना प्रकरणमा मुछिएको छ।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार नेपालसहितले पतञ्जलीका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न दिएको र किनेको दुई महिना नबित्दै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिएको भेटिएपछि मुद्दा दायर भएको हो।
२०६६ मा भारतीय योगगुरु रामदेवको लगानी रहेको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेको बनेपामा ५९३ रोपनी जग्गा खरिद गरी ३ सय ५३ रोपनी हाउजिङ कम्पनीलाई बेचिएको बताइएको छ।
यसअघि अख्तियारले पतञ्जली योगपीठको जग्गा प्रकरणमा नेता नेपालसँग बयान लिएको थियो।
पतञ्जली योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो। तत्कालीन सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा पछि मन्त्रिपरिषदकै निर्णयबाट बिक्री गरेको भेटिएपछि अख्तियारले छानबिन थालेको थियो। उबेला नेता नेपाल प्रधानमन्त्री थिए।
भूमिसम्बन्धी ऐन, २०२१ मा कुनै उत्पादनमूलक उद्योग वा व्यवसाय गर्न सरकारले हदबन्दीमा छुट हुने गरी जग्गा राख्न सक्ने कानुनी व्यवस्था भए पनि सुविधामा खरिद गरेको जग्गा बिक्री गर्न पाइँदैन।
पतञ्जली योगपीठले काभ्रेमा आयुर्वेद शिक्षालयदेखि अस्पताल र जडीबुटी फार्म सञ्चालन गर्न २०६४ मा कम्पनी दर्ता गरेको थियो। हदबन्दीभित्रको जग्गाले नपुग्ने भएपछि उसले सरकारलाई हदबन्दी छुटमा जग्गा राख्ने अनुमति दिन आग्रह गरेको थियो।
२०६६ मा नेता नेपाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले पतञ्जलीलाई काभ्रेमा ८१५ रोपनी जग्गा किन्न छुट दिएपछि पतञ्जलीले करिब ६ सय रोपनी जग्गा किनेको थियो।