काठमाडौं। बेलायती भूतपूर्व गोर्खा सैनिकले वंशजका आधारमा प्राप्त नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने माग गरेका छन्।
प्रतिनिधिसभा राज्य व्यवस्था समितिको बैठकमा भूपू गोर्खा सैनिकका प्रतिनिधिले आफूहरूले नयाँ नभई भएकै नागरिकताको निरन्तरता चाहेको धारणा राखेका हुन्।
त्यस अवसरमा ब्रिटिस गोर्खा भूपूसैनिक कृष्णकुमार राईले आफूहरूले उठाएको नागरिकतासम्बन्धी विषय बेलायत सैनिकमा नेपाली युवाको भर्ती बन्द गर्ने कि नेपाली नागरिकताले निरन्तरता पाउने भन्ने रहेको बताए।
भूपूगोर्खा सैनिकले बेलायती सेनामा गरेको योगदान स्वरूप नेपाललाई वार्षिक करिब २१ करोड बेलायती मुद्रा (पाउण्ड) प्राप्त भइरहेको जानकारी दिँदै उनले राज्यको सम्झौताअनुरूप बेलायती सेनामा भर्ना भएका युवाको नागरिकताले निरन्तरता नपाउने विषय मानव अधिकारको मूल्य मान्यताविपरीत रहेको धारणा राखे।
यस अवसरमा अहिले बेलायती सेनामा करिब तीन हजार ५०० को संख्यामा नेपाली युवा गोर्खा सैनिकका रूपमा कार्यरत रहेको तथा करिब २२ हजार भूपूगोर्खा रहेको जानकारी दिए।
उनले भने, ‘बेलायती सेनामा रहेर अन्य देशसँगको युद्धका मारिए बेलायती हुने, बाँचेर फर्केर नेपाली हुने अवस्था सच्याउन आवश्यक रहेको छ, त्यसबारे नेपाल र बेलायतबीचबीच संवाद आवश्यक छ।’
प्रथम र द्वितीय विश्वयुद्धमा अध्यक्ष राईले कुनै अप्रिय घटनाका भागेदार भएको खण्डमा त्यहाँ बसोबास गरेका व्यक्तिलाई नेपाल पठाइदिने व्यवस्थामा सुधारको खाँचो औँल्याएका थिए।
सन् १८१४ देखि हालसम्म करिब २१० वर्षदेखि बेलायत र नेपालबीच बेलायती गोर्खा सैनिकले मित्रताको पुलका रूपमा काम गरिरहेकाले त्यहाँका राहदानी र बसोबासको अनुमति लिन रहरले नभई बाध्यताको उपज भएको भूपूसैनिक होम किराती सुनुवारले बताएका थिए।