काठमाडौं। माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरिने भएको छ। एलिभेट इनर्जी प्रालिको प्रस्तावित आयोजना वरपर ड्रिलिङ गर्न थालिएको छ।
स्थानीयलाई क्षमताअनुसारको रोजगार दिने र वरपरका क्षेत्रमा सिँचाइका लागि ठूला परियोजना सञ्चालन गर्नेलगायतका लक्ष्य रहेको आयोजनाका साइट भौगर्भिक इन्जिनियर सुरेन्द्र तिमिल्निाले बताए।
तीन वर्षभित्रै डीपीआर तयारी गर्ने उद्देश्यले छायानाथ रारा नगरपालिका–१२ लुम्सको गाँठे स्थानमा ड्रिलिङ भइरहेको उनको भनाइ छ। ड्रिलिङको लम्बाइ ३८५ मिटर छ। अहिलेसम्म १९ मिटरको काम सम्पन्न भएको तिमिल्सिनाले बताए।
ड्रिलिङको लम्बाइ ३८५ मिटर रहने बताइएको छ। हालसम्म १९ मिटरको काम सम्पन्न भएको उनले बताए। यो आयोजना मुगुमा जलविद्युत्, जलमार्ग र पर्यटन क्षेत्रको विकासका लागि नयाँ प्रयोग हुने उनको भनाइ छ।
आयोजनालाई भविष्यमा बहुद्देश्यीय परियोजना बनाउने लक्ष्य राखिएको छ। तिमिल्सिनाका अनुसार जलाशयबाट पर्यटन, रोजगारी, माछापालन, स्थानीयलाई निर्माणका क्रममा र सम्पन्न भएपछि रोजगारी दिइनेछ।
विद्युत् प्राधिकरण शाखा मुगुका कार्यालय प्रमुख साजन ऐडीले माथिल्लो मुगु कर्णाली जलविद्युत् निर्माणपछि यस क्षेत्रमा आर्थिक गतिविधि चलायमान हुने र स्थानीयले रोजगारी पाउने बताए।
आयोजनाको मुगुमकार्मारोङ गाउँपालिकाको रिउस अथवा पुलमा बाँध रहने प्रस्ताव गरिएको छ। आयोजनाकाे बाँध आंशिक जलाशय (पिकिङ–आरओआर, पिआरओआर) का रूपमा निर्माण हुनेछ।
मुगुमा जलविद्युत्, जलमार्ग र पर्यटन क्षेत्रको विकासका लागि पनि नवीनतम परियोजनाका रूपमा रहेको प्रस्तावित आयोजना मुगुमकार्मारोङ गाउँपालिका र छायानाथ रारा नगरपालिकाको लुम्समा पर्छ।