कञ्चनपुर। कञ्चनपुरको ब्रह्मदेवबाट दार्चुलाको तिंकर जोड्ने महाकाली करिडोरअन्तर्गत पर्ने वन क्षेत्रमा रुख कटानको काम भइरहेको छ।
करिडोरअन्तर्गत कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलामा गरी करिब १९ हजार रुख कटान गर्नुपर्ने महाकाली करिडोर दार्चुला तिंकर सडक योजनाका कार्यालयका योजना प्रमुख दीपक सुनारले जानकारी दिए।
उनका अनुसार अहिले कञ्चनपुर र डडेल्धुरामा रुख कटानको काम भइरहेको छ। ‘सबैभन्दा बढी रुख कटान गर्नुपर्ने डडेल्धुरामा रुख कटानको काम भइरहेको छ’, उनले भने, ‘करिडोरअन्तर्गत करिब १९ हजार रुख काट्नुपर्नेछ।’ रुख कटानको काम सम्बन्धित जिल्लास्थित डिभिजन वन कार्यालयबाट भइरहेको छ।
महाकाली करिडोरअन्तर्गत पर्ने कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा जिरो प्वाइन्टदेखि ११ किलोमिटरसम्ममा रुख कटान सुरु गरिएको छ। दुई वर्षअघि नै रुख कटानको आदेश आए पनि उक्त क्षेत्रमा रुख कटान हुन सकेको थिएन।
डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत सुवास कुँवरले अहिले सिद्धनाथ सामुदायिक वन क्षेत्रभित्र पर्ने रुख कटानको काम भइरहेको छ। ‘शून्यदेखि ११ किलोमिटर क्षेत्रमा पर्ने ११५ रुख कटान गर्नुपर्नेछ’, उनले भने।
त्यसैगरी डिभिजन वन कार्यालय डडेल्धुराका अनुसार १० हजार ४७६ रूख काट्नुपर्नेमा अहिले आठ हजार ३७ रख कटान आदेश भएको छ। कञ्चनपुरको ब्रह्मदेवबाट डडेल्धुरा, बैतडी र दार्चुलाको तिंक्रसम्म सडक खुलाउने उक्त योजनाअन्तर्गत ४१३ किलोमिटर सडक निर्माण हुँदै छ।
यसमध्ये ३३४ किलोमिटर सडक महाकाली लोकमार्ग आयोजना कार्यालय र ७९ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरिरहेको महाकाली करिडोर दार्चुला तिंक्र सडक योजनाका कार्यालयले जनाएको छ।
सडक योजनाका कार्यालयका योजना प्रमुख दीपक सुनारले आयोजनालाई पर्याप्त बजेट नहुँदा निर्माणले गति लिन नसकेको बताए। ‘ठेक्का लागेको मात्रै डेढ अर्ब छ। नयाँ ठेक्का लगाउन सकिने अवस्था छैन’, उनले भने, ‘आगामी आर्थिक वर्षमा न्यून बजेट विनियोजन भएको छ।’ आयोजनाका लागि आगामी आथिक वर्षमा २३ करोड मात्रै बजेट आएको छ।
करिडोरको अझै ५५ किलोमिटर ट्रयाक खोल्न बाँकी छ। करिडोरअन्तर्गत कञ्चनपुरमा ११ किलोमिटर, डडेल्धुरामा ५८ किमि, बैतडीमा १४४ किमि र दार्चुलामा १२१ किमि सडक निर्माण हुनेछ ।
यसमध्ये कञ्चनपुरमा ११ किमि ट्रयाक खुलिसकेको छ भने डडेल्धुरामा २८ किमि ट्रयाक खुलेको छ । त्यसैगरी बैतडीमा ११४ किमि र दार्चुलामा ७७ किमि ट्रयाक खुलेको छ। योजनाका लागि चालू आर्थिक वर्षमा ४१ करोड ५० लाख बजेट विनियोजन भएको थियो।
करिडोर बनेपछि ब्रहमदेव, डडेल्धुराको जोगबुढा, बैतडीको पञ्चेश्वर, चमेलिया, दार्चुलाको लाली, उकू, खलंगा, धारी, हिकिला, हुती, धौलाकोट र सुन्सेरा हुँदै तिंकर नाकासम्म सडक निर्माण गरी उक्त क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय साथै शैक्षिक विकासमा योगदान पुग्ने लक्ष्य राखिएको छ।
सुदूरपश्चिम प्रदेशका चार जिल्ला कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्ला जोड्दै नेपाल र चीनको ताक्लाकोटको सीमामा रहेको पिल्लर नं १ सम्म निर्माण हुने सडक योजनाबाट उक्त क्षेत्रमा बसोबास गर्ने करिब एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने सरकारको अपेक्षा छ।–रासस