काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट भएको भिजिट भिसा प्रकरणको छानबिन तथा अध्ययन समिति बनाउन सत्तारूढ दलहरू नेकपा एमाले र नेपाली कांग्रेस तयार भएका छन्।
दुवै पक्षका नेताका अनुसार संघीय संसद् नयाँ बानेश्वरमा सत्तारूढ र विपक्षी दलहरूको छलफलपछि भिजिट भिसा प्रकरणको छानबिन तथा अध्ययन समिति बनाउने सम्बन्धमा सहमति जुटेको हो।
भिजिट भिसा छानबिनको माग गर्दै विपक्षी दलहरूले जेठ १३ यताका प्रतिनिधिसभाका बैठक अवरुद्ध गर्दै आएका थिए। जसले गर्दा बजेटमाथिको छलफल प्रभावित हुँदै आएको थियो।
बहुपक्षीय बैठकमा सहभागी कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र श्यामकुमार घिमिरे, एमालेका महेश बर्तौला, माओवादीका वर्षमान पुन र हितराज पाण्डेले संसद्को अवरोध हटाउनका लागि दलहरू सहमति नजिक पुगेको र त्यसका लाग भिजिट भिसाको छानबिन तथा अध्ययन समिति बनाउन सबै पक्ष तयार रहेको जानकारी दिए।
यसअघि छानबिनको लिखित सुनिश्चितता गर्न विपक्षी दलले सत्तारूढ पक्षसँग माग गरेका थिए। भिजिट भिसा प्रकरणको न्यायिक वा संसदीय छानबिन तथा अध्ययन के हुने भन्नेबारे थप छलफल भइरहेको हो।
लिखित रुपमा सुनिश्चितता गरेर संसद्को अवरोध हटाउन विपक्षी दलहरूले सत्तापक्षसमक्ष माग राखेका थिए। विपक्षीको उक्त प्रस्तावपछि सत्तारूढ कांग्रेस र एमालेका नेताबीच छलफल भएर छानबिन तथा अध्ययनका लागि प्रतिबद्धता जनाउने सहमति जुटेको नेताहरूले बताएका छन्।
संसद् भवनमा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, एमाले सचिव योगेश भट्टराई, रास्वपाका विराजभक्त श्रेष्ठ, डीपी अर्याल र सन्तोष परियारलगायत नेताहरू छलफलमा जुटेका थिए।