काठमाडौं। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै दुई सातादेखि अवरुद्ध संसद् बैठक आज पनि बस्ने गरी बोलाइएको छ। आज प्रतिनिधिसभा दिउँसो १ बजे र राष्ट्रिय सभा बैठक सवा १ बजेका लागि तय भएको संघीय संसद् सचिवालयले जनाएको छ।
बिहीबार सत्तारुढ कांग्रेस, एमाले र मुख्य प्रतिपक्षी नेकपा माओवादी केन्द्रबीच संसद् सुचारु गर्न दुईबुँदे सहमति भएको छ। उक्त सहमतिमा भिजिट भिसा प्रकरणमा समिति गठन गरेर छानबिन गरिने उल्लेख छ भने गृहमन्त्रीको राजीनामा विषय राखिएको छ।
गृहमनत्रीको संलग्नताबारे विशेष समिति वा छानबिन समिति गठनको कुरा पनि उल्लेख छैन। यसमा नेकपा माओवादी केन्द्रले सहमति जनाएको भए पनि रास्वपाले अहिलेसम्म कुनै निर्णय दिएको छैन। सोही कारण आजको बैठक चल्ने÷नचल्ने आशंका यथावत् छ।
आजको प्रतिनिधिसभामा अर्थमन्त्रीले आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफलको प्रस्ताव पेस गर्नेछन् भने निजामती सेवा विधेयकसम्बन्धी प्रतिवेदन पेस हुनेछ।
राष्ट्रिय सभामा स्वास्थ्य र कृषि मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर हुनेछ भने त्रिभुवन विश्वविद्यालय ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनको कार्यान्वयनसम्बन्धी प्रतिवेदन पेस हुनेछ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्ने कार्यसूची छ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रबारे जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।