काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भिजिट भिसामा अग्नि सापकोटा साटिएको भनेर गरिएको प्रचार गलत रहेको बताएका छन्।
आज विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले भिजिट भिसामा सापकोटा साटिएको विषयमा कुनै साइनो सम्बन्ध नरहेको दाबी गरेका हुन्।
जनताको बृहत्तर हितका लागि सत्तापक्षसँग दुईबुँदे सहमति गरिएको उनले बताए। भिजिट भिसा प्रकरणमा छानबिन गर्न समिति बनाएर जाने विषयमा सहमति गरिएकाले यसमा अन्य विषय ल्याइनु असान्दर्भिक रहेको उनको भनाइ छ।
अध्यक्ष दाहालले सदनबाट निजामती र शिक्षालगायतका ऐन छिटो पारित गर्नुपर्ने भएकाले सदनको गतिरोध अन्त्य गरिएको बताए। ‘अग्निसँग साटेको कुरा बिल्कुलै गलत हो। भिजिट भिसामा अग्निको कुनै साइनो सम्बन्ध छैन’, दाहालले भने।
शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले माओवादी केन्द्रले सापकोटाको मुद्दासँग भिजिट भिसा प्रकरण साटेको आरोप लगाएका थिए। ‘जनताको हितका लागि कहिले अघि बढ्ने, कहिले पछि हट्ने, कहिले सहमति गर्ने कहिले विद्रोह गर्ने हो। यो सधैं चलिरहन्छ’, उनले भने।
संघीय निजामती, विद्यालय शिक्षालगायतका थुप्रै विधेयकलाई अन्तिम रूप दिएर पारित गर्नुपर्ने भएकाले सत्तापक्षसँग दुईबुँदे सहमित गरिएको उनको भनाइ छ। सहमति गर्दा माओवादीले भिजिट भिसाको विषय छाडेको नहुने उनले बताए।
‘भिजिट भिसा वा अध्यागमनमा भएका कुराको छानबिनका लागि भनेर आवश्यक नीतिगत संरचना सबै बनाउने र एक महिनाभित्र अगाडि बढाउने भनिएको छ। त्यसैले संसद् खोल्न सहमत भएका हौं’, दाहालले भने। भिजिट भिसाको विषय गम्भीर भएको र यो गृहमन्त्रीसँग मात्रै सम्बन्धित नरहेको उनले बताए।
माओवादीको सरकारमा जाने तयारी नरहेको दाबी उनले गरे। ‘नेकपा माओवादी केन्द्रको सरकारमा जाने तयारी होइन। कांग्रेससँगको सम्बन्ध सुमधुर हुन्छ कि हुँदैन, छानबिन र अध्ययन कसरी जान्छ, त्यसमा भर पर्छ’, उनले भने।