काठमाडौं। बाढीपहिरोका कारण १० वटा सडक पूर्ण तथा आंशिक रुपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ। निरन्तरको बाढीपहिरोले ती राजमार्ग बन्द भएका हुन्।
ट्राफिक प्रहरीका अनुसार कोसी प्रदेश धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा पहिरोका कारण राई–राँके–भेडेटार सडक अवरुद्ध भएको छ। अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ।
यस्तै, बागमती प्रदेशको सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–२ कोदारी र ३ लाखेमा पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। मकवानपुरको भीमफेदी गाउँपालिका–९ बाघभैरवमा पहिरोका कारण त्रिभुवन राजपथ आंशिक रूपमा अवबरुद्ध छ भने मर्मत भइरहेको छ।
गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गाउँपालिका–१ मा बाढीका कारण महेन्द्र राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, नवलपरासीकै (बर्दघाट सुस्ता पूर्व) बुलिङटार गाउँपालिका–१ बतासेडाँडामा पहिरोका कारण कालीगण्डकी करिडोर आंशिक रूपमा अवरुद्ध रहेको प्रहरीले बताएको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्सेमा पहिरोका कारण बेनी–जोमसोम सडक खण्ड आंशिक रूपमा अवरुद्ध छ। लुम्बिनीको दाङ तुलसीपुर उपमहानगर–३ शान्तिमा पहिरोका कारण दाङ–सल्यान सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
गुल्मीको कालीगण्डकी गाउँपालिका–६ मा पहिरोका कारण कालीगण्डकी करिडोर आंशिक रूपमा अवरुद्ध छ। कर्णालीको जुम्ला सिन्जा गाउँपालिका–२ फुलेगाउँमा पहिरोका कारण जुम्ला–मुगु सडक खण्ड आंशिक रूपमा अवरुद्ध छ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–९ छलघाटमा बाढीका कारण भेरी कोरिडोर आंशिक रूपमा अवरुद्ध छ। सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखेल्सामा पहिरोका कारण राप्ती राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको, वैकल्पिक मार्ग प्रयोग गर्न वा यात्राअघि ट्राफिक जानकारी लिन आग्रह गरेको छ।
