सिरहा। धनगढीमाई नगरपालिका–१३ स्थित डाबरटोलमा निर्माणाधीन दश करोडभन्दा बढी लागतको खानेपानी आयोजना निर्धारित समयअगावै सम्पन्न भएको छ।
२०८० असार २५ मा दुई वर्षभित्र सम्पन्न गर्ने लक्षसहित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरसँग आयोजना सम्झौता भएको थियो। उक्त निर्धारित समय सकिनु २० दिन अगावै निर्माण सम्पन्न भएको हो।
निर्धारित समयसीमा अगाडि नै काम सम्पन्न भएर उदाहरणीय आयोजना बनेको धनगढीमाई नगरप्रमुख शिवशंकर महतोेले बताए। नगरभित्रका अन्य खानेपानीको आयोजनाहरु लामो समय व्यतीत हुँदा निर्माणाधीन अवस्थामै जीर्ण हुने गरेको जनाउँदै उनले भने, ‘मलाई आश्चर्य लागेको छ। समयसीमा अगावै काम सम्पन्न हुनु गौरवको विषय हो। अन्य निर्माणाधीन आयोजना पनि समयमै सम्पन्न गर्न यसले सकारात्मक सन्देश दिएको छ।’
खानेपानी आयोजनालाई राजनीतिकरण गरिने र प्रतिष्ठासँग जोड्ने प्रवृत्तिले आमजनता वाक्क भएको अनुभूति आफूले गरेको उनको भनाइ थियो। खानेपानी आयोजना निर्धारित समयमै सम्पन्न गर्न ‘डाबरटोल नैनपुर टोल खानेपानी तथा सरसफाई उपभोक्ता समिति’ले काम गरेको थियो।
समिति अध्यक्ष श्रवण ठकुरीले भने, ‘हामीले गत जेठमै काम सम्पन्न गरिसकेका थियौं। जेठबाटै परीक्षणका रुपमा पानी उपभोक्तालाई वितरण गरिसकेका थियौँ। निरन्तरको सक्रियता, लगनशीलता र मिहिनेतले यो सम्भव भएको हो।’
कुल १० करोड ६ लाख ५८ हजार लागत रहेको यस आयोजनाबाट वडा नं १३, १२ र ११ का एक हजार चार सय ४७ घरधुरीका आठ हजार छ सय ४२ भन्दा बढी जनसंख्या लाभान्वित भएका जनाइएको छ। स्थानीयले खोला, कुवा र पोखरीको दूषित पानी खानुपर्ने दिन अब सदाका लागि अन्त्य भएका छन्।–रासस