काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा ल्याएको विद्युत् खरिद सम्झौता ‘टेक एन्डे पे’ (लिऊ र तिर) प्रावधान फिर्ता लिन ऊर्जा उद्यमीले प्रधानमन्त्री, अर्थमन्त्री र ऊर्जामन्त्री र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई एकैपटक एसएमएस पठाएका छन्।
ऊर्जा उद्यमीले आन्दोलनका कार्यक्रमअन्तर्गत शनिबार बिहान १० बजे एकैपटक प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, ऊर्जामन्त्री दीपक खड्का र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई एसएमएसमार्फत टेक एन्ड पे फिर्ता लिन आग्रह गरेका हुन्।
टेक एन्ड पे पीपीएको व्यवस्था ऊर्जमा निजी क्षेत्रको लगानी बन्द गर्ने गरी ल्याइएको भन्दै उनीहरुले एसएमएसमा ‘ऊर्जामा निजी क्षेत्र समाप्त पार्ने, लोडसेडिङ निम्त्याउने, लगानीकर्तालाई डुबाउने र देशको अर्थतन्त्र सिध्याउने टेक एण्ड पे पीपीए खारेज गर’ उल्लेख गरेका छन्।
सरकारले गत जेठ १५ मा सार्वजनिक आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रले निर्माण गर्ने नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) टेक एन्ड पे अवधारणाअनुसार मात्र गरिने उल्लेख गरेपछि ऊर्जा उद्यमीले त्यसको विरोध गर्दै असार ६ देखि चरणबद्ध आन्दोलन गरिरहेका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का कार्यवबाहक अध्यक्ष एवं इप्पान आन्दोलन समिति संयोजक मोहनकुमार डाँगीले टेक एन्ड पे फिर्ता लिन सरकारलाई दबाब दिन एकैपटक एसएमएस गरिएको जानकारी दिए।
डाँगी नेतृत्वको समितिले आन्दोलनको पहिलो दिन शुक्रबार प्रधानमन्त्री ओलीलालाई भेटेर ज्ञापनपत्र बुझाएको थियो भने आन्दोलनको तेस्रो दिन असार ८ गते बिहान ११ बजे सामाजिक सन्जालमा सबैले एकैपटक टेक एन्ड पे पीपीए हटाउन सन्देश लेखेर दबाब दिने कार्यक्रम छ।