काठमाडौं। देशकै प्रमुख सडक खण्ड पूर्व-पश्चिम राजमार्ग क्षेत्र अहिले अस्तव्यस्त छ। गत पुस २६ गते दुम्कीबास पुल भाँचिनु र वर्षायम सुरू भएसँगै दाउन्ने क्षेत्रमा सडक हिलाम्मै बनेपछि राजमार्ग अस्तव्यस्त बनेको हो। वर्षाले दाउन्ने क्षेत्रमा सडक चिप्लो र हिलो हुँदा सवारी गुड्न सक्ने अवस्था छैन।
साथै, वैकल्पिक बाटो जोखिमपूर्ण बनेका छन्। असार ५ गते विनया खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा घण्टौँसम्म सवारी आवागमन अवरुद्ध भएको थियो। यसले यात्रुहरूको सुरक्षामा जोखिम बढाएको छ। समयमै गन्तव्यमा पुग्न नसक्दा थप समस्या उत्पन्न भएको छ।
सडक विभागले तत्कालका लागि डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरे पनि बर्खा सुरु भएसँगै डाइभर्सनमा पटक-पटक समस्या देखिन थालेको छ। यही डाइभर्सनमा परी काठमाडौंबाट गएको बस बाढीको बेलमा फसेको थियो।
यात्रुले पाउने सास्तीसँगै सामान ढुवानीमा समस्या र मूल्य वृद्धि हुन सक्ने देखिएको छ। भैरहवा नाकाबाट आउने कच्चा पदार्थ तथा अन्य उपभोग्य वस्तुहरूको ढुवानीमा ढिलाइ हुँदा बजारमा सामानको अभाव हुन सक्ने सम्भावना देखिन्छ। यसले उपभोग्य वस्तुको मूल्य अकाशिने यातायात विज्ञ आशिष गजुरेल बताउँछन्।
‘सामान ढुवानी गर्ने गाडीहरू लामो समयसम्म रोकिँदा दैनिक भाडा बढ्ने गर्छ,’ गजुरेलले भने, ‘यसले समग्र ढुवानी खर्चमा वृद्धि भएको छ। यसको प्रत्यक्ष मार उपभोक्तामा पर्छ।’
नारायणगढ–बुटवल सडक खण्डमा यात्रुहरूले अझै कम्तिमा करिब दुई सातासम्म असहज यात्रा गर्नुपर्ने देखिएको छ। दाउन्ने खण्डमा एकतर्फी ट्राफिक र दिने खोलाको पुलमा भइरहेको कामले समस्या निम्त्याएको छ। सडकको विभिन्न खण्डमा भइरहेको निर्माण कार्य र डाइभर्सनका कारण यात्रुहरूले करिब दुई साता सास्ती भोग्नुपर्ने नारायण-बुटवल सडक योजना (पश्चिम खण्ड) आयोजनाका प्रमुख शशांक मिश्र बताउँछन्।
यस्तै, सो सडक खण्डमा ठूला सवारी साधानलाई डाइभर्ट गरिएको छ। दाउन्नेमा पुल पूर्ण रूपमा सञ्चालनमा नआएसम्म राति ७ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरिने छ।
‘अत्यावश्यकबाहेक सवारी साधनलाई राति ७ बजेदेखि बिहान ४ बजेसम्म बन्द गरिएको छ,’ उनले भने, ‘सडकमा पहिलेदेखि जाममा फसेका सवारी साधनलाई भने पास भइरहेका छन्।’
यस्तै, सो सडक खण्डमा ठूला सवारी साधानलाई डाइभर्ट गरिएको छ। दाउन्नेमा पुल पूर्ण रूपमा सञ्चालनमा नआएसम्म राति ७ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरिने छ।
दाउन्ने खण्डमा तीनदेखि चारवटा स्थानमा कल्भर्ट निर्माण भइरहेको छ। यसले एकतर्फी ट्राफिक सञ्चालन भइरहेको छ। एउटा कल्भर्टको काम दुई दिनमा सम्पन्न भए पनि अन्य दुई वटा कल्भर्टको काम अझै बाँकी रहेको मिश्रले बताए।
‘पुलको हकमा, चाइना स्टेट कन्स्ट्रक्सनले जुलाई ५ देखि ट्राफिक खुला गर्ने गरी पत्र बुझाएको छ,’ उनले भने, ‘पुलको कंक्रिटिङ गरेको २८ दिन पुगेपछि ट्राफिक सञ्चालनमा आउने छ। आज जुन २२ को मितिले हेर्दा, पुल सञ्चालनमा आउन अझै दुई साताभन्दा बढी समय लाग्ने देखिन्छ।’
नवलपरासीको दुम्सीबासस्थित विनया खोलामा पुल भाँचिएको ६ महिना बितिसक्दा अझै पुनर्निर्माण हुन सकेको छैन। यसले पूर्व-पश्चिम राजमार्गमा यात्रा गर्ने यात्रुहरूले ठूलो सास्ती भोग्नुका साथै समग्र अर्थतन्त्रमा समेत नकारात्मक असर परिरहेको गजुरेल बताउँछन्।
पूर्व–पश्चिम राजमार्गमा रहेका धेरै पुराना पुलहरू जीर्ण अवस्थामा छन्। ठूला र हेभी सवारी साधनहरूको अनियन्त्रित आवागमन तथा समयमै मर्मतसम्भार नहुँदा पुलहरूको भारवहन क्षमतामा ह्रास आएको उनको तर्क छ। दुम्सीबासको पुल भाँचिनु पनि यसैको परिणाम रहेको उनको भनाइ थियो।
पश्चिम नेपाललाई जोड्ने यो एकमात्र सडक खण्ड भएकाले यसमा आउने अवरोधले जनजीवनमा प्रत्यक्ष असर पारेको छ।
‘लामो समयसम्म जाममा फस्नुपर्ने, जोखिमपूर्ण यात्रा गर्नुपर्ने र गन्तव्यमा पुग्न ढिलाइ हुनेजस्ता समस्याहरू यात्रुहरूले भोगिरहेका छन्,’ उनले भने, ‘विशेष गरी बर्खाको समयमा खोलामा पानीको बहाव बढ्दा डाइभर्सनमा समस्या आई यातायात अवरुद्ध हुने सम्भावना बढी हुन्छ।’
पश्चिम नेपाललाई जोड्ने यो एकमात्र सडक खण्ड भएकाले यसमा आउने अवरोधले जनजीवनमा प्रत्यक्ष असर पारेको छ। सामान ढुवानी, मानिसहरूको आवतजावत र समग्र आर्थिक गतिविधिमा नकारात्मक प्रभाव परेको छ।
सम्बन्धित सरोकारवालाले खोलाको पुल भत्केका बेला नयाँ पुल निर्माणलाई तीव्रता दिनुपर्ने र वैकल्पिक बाटोको उचित मर्मतसम्भारमा ध्यान दिनुपर्ने जोड दिएका छन्।