काठमाडौं। नेपाल र भारतबीच खुला सीमाको कारण मानिसको आवतजावत सहज हुन्छ। भारतभन्दा नेपालमा बढी कर (भन्सार) लगाइएका वस्तु तथा सामान गैरकानुनी रुपमा भित्र्याउने प्रवृत्ति रहेको प्रहरी तथा भन्सार विभागहरुको अनुसन्धानमा पाइन्छ।
पछिल्लो समय नेपालमा सुनमा भारतको भन्दा बढी भन्सार र त्यसमा लगाइएको अतिरिक्त शुल्क (विलाशिता शुल्क) को कारणले विशेषगरी सुनका तयारी गहना गैरकानुनी कारोबार (तस्करी) बढेको सरोकारवालामा चिन्ता छ। तर, के साँच्चै भारतबाट नेपालमा गहना तस्करी सम्भव छ त?
वर्तमान भन्सार नीति, बजार अवस्था, सुनको गुणस्तर र भारत र नेपालको व्यापारिक रणनीतिका विविध पक्षलाई हेर्दा यो सम्भावना असम्भव देखिन्छ।
भारतबाट नेपालमा तयारी गहना तस्करी गर्नु अब सम्भव छैन भन्ने प्रष्ट देखिन्छ। उच्च भन्सार दर, गुणस्तरको ह्रास, नेपालमै गुणस्तरीय गहना उत्पादनको सहजता र पर्यटकलाई लक्षित सख्त नीतिका कारण गहना तस्करीको सम्भावना शून्य अवस्थामा पुगेको छ।
नेपालमा हालसम्म तयारी सुनका गहनामा सार्कभित्रका देशबाट आयात गर्दा साढे ९ प्रतिशत भन्सार लाग्छ भने सार्क बाहिरका देशबाट आयात गर्दा २५ प्रतिशत भन्सार दर तोकिएको छ।
तर, काँचो सुनको भन्सार दर १० प्रतिशत छ, जसलाई सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत तयारी गहनामा सार्क राष्ट्रको हकमा १२ प्रतिशत पुर्याइएको छ। भारतमा तयारी सुनको भन्सार ९ प्रतिशत (३ प्रतिशत जीएसटीसहित) रहेको छ। तर, तयारी गहनाको व्यावसायिक निर्यातमा भारत सरकारले जीएसटी फिर्ता गर्ने नीति लिएको छ। यसले गर्दा भारतबाट निर्यात हुने सुनका तयारी गहना नेपालमा सस्तो पर्न जान्छ।
नेपालको भारतीय नाका नजिक टाटा, कल्याण, जगदम्बालगायत कम्पनीहरुको अर्बाैं रुपैयाँ बराबरका गहना पसल छन्। भारतमा ज्याला र जर्ती गरेर १२ प्रतिशत हाराहारी गहना निर्माण हुन्छ। नेपालमा पनि ८ देखि १० प्रतिशत जर्ती र २ प्रतिशतसम्म ज्याला गरेर प्रतितोला १२ प्रतिशतसम्म व्यापारीले ग्राहकसँग लिन्छन्। अहिले भारतमा २४ क्यारेटको प्रतिग्राम मूल्य ९ हजार ९ ८७ भारु रहेको छ भने नेपालमा प्रतिग्राम १६ हजार ७ सय ३५ रुपैयाँ छ।
नेपालको विदेशी विनियमयदर अनुसार १०० भारु बराबर नेपाली १६०.१५ रुपैयाँ छ। ज्याला जर्ती समेत समान दरमा र प्रतिग्राम सुनको मूल्य समेत समान रहेको हुँदा व्यवसायीहरुले गर्ने भन्सारदर वृद्धि, पत्थर र अतिरिक्त शुल्क वृद्धिकै कारणले नेपालमा भारतबाट तयारी सुनका गहना तस्करीको बाटोमार्फत आउन सक्ने सम्भावना न्यून देखिन्छ।
भारतबाट तयारी सुनका गहना ल्याएर नेपालमा व्यापार गर्न अब न फाइदाजनक छ, न त सहज। नेपालमै बढ्दो प्रविधि, दक्ष कारीगरको उपलब्धता, कानुनी कडाइ र ग्राहकको फरक प्राथमिकताले यस्तो व्यापारलाई सीमित बनाएको छ।
भारतमा क्यारेट सुनको चलनले गाल्दा परिमाण घट्छ, घाटाको व्यापार
भारतमा तयारी गहना प्रायः २२ क्यारेट वा त्योभन्दा कम शुद्धताका बनाइन्छन्। यस्तो सुन नेपाल ल्याएर गाली (पगालेर) फेरि नयाँ डिजाइनमा परिणत गर्दा शुद्ध सुनको मात्रामा स्वाभाविक रूपमा ह्रास आउँछ। नेपालमा बिक्रीका लागि तयार पारिँदा लागत अझै बढ्छ, जसका कारण गहना व्यवसायी नाफा कमाउनेभन्दा घाटा बेहोर्नुपर्ने विराटनगरका एक सुनचाँदी व्यवसायी बताउँछन्।
‘हामी सीमा नजिक सुनचाँदी व्यापार गरेर बसेको वर्षौं भयो। भारतबाट गहना ल्याएर यहाँ बिक्री गर्दा नाफाभन्दा घाटा नै हुन्छ,’ ती व्यापारीले क्यापिटल नेपालसँग भने, ‘काँचो सुनको विषय छुट्टै होला तर, भारतमा बनाइएका गहना यहाँ ल्याएर बिक्री गर्न बिलबिजकको समस्या हुन्छ भने गालेर अर्को डिजाइनमा बिक्री गर्न पनि ६०/७० प्रतिशत मात्रै फाइन गोल्ड निस्किन्छ।’
उनका अनुसार भारतबाट सुनका गहना ल्याउने भनेको मारवाडीलगायत नेपालमा बसोबास गर्ने भारतीय मूलका नागरिकले आफ्नो मौलिकता झल्किने डिजाइनका गहना अर्डर आएको अवस्थामा मात्रै रहन्छ। यद्यपि नेपालका अधिकांश कालिगढ भारतीय नै हुनाले उनीहरुले नै त्यस्ता गहना डिजाइन गर्न सक्छन्।
विवाहलगायत अन्य चार्डपर्वको सिजनमा भने अर्डर पूरा गर्न नसक्ने अवस्थामा भारतबाट तयारी गहना व्यवसायीले ल्याउन सक्छन्। तर, त्यस्तो गहना गालेर पुनः अर्को डिजाइनमा बनाउँदा ग्राहकलाई धेरै नोक्सानी हुन्छ।
भारतमा तयारी गहना प्रायः २२ क्यारेट वा त्योभन्दा कम शुद्धताका बनाइन्छन्। यस्तो सुन नेपाल ल्याएर गाली (पगालेर) फेरि नयाँ डिजाइनमा परिणत गर्दा शुद्ध सुनको मात्रामा स्वाभाविक रूपमा ह्रास आउँछ।
‘भारतीय गहना धेरै डिजाइनका हुन्छन्। धेरै जोड्न भएको गहनामा जर्ती बढी लाग्छ र गाल्दा सुन धेरै आउँदैन। भारतीय सुनका गहना पोल्दा यहाँको जस्तो पहेंलो नभएर अधिकांश कालोजस्तो देखिने हुन्छ,’ उनले भने ‘त्यसमा कर, मेकिङ चार्ज, भन्सार दस्तुरसमेत जोड्दा त्यो व्यापार घाटामूलक हुन जान्छ।’
अहिले नेपालमै आधुनिक सीएडी मेसिनमार्फत डिजाइन बनाउने सुविधा हुँदा विवाह, नामकरण, दहीचिउरा र अन्य परम्परामा चाहिने सबै डिजाइन यही बन्ने उनले बताए।
भारतबाट गैरकानुनी बाटोबाट तयारी सुनका गहना आएको घटना शून्य
नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेसमेत भारतबाट सुनका गहना तस्करी नहुने बताउँछन्। ‘डिक्को बनाइएको काँचो सुनचाँदी तस्कर गरिएको समय–समय प्रहरीले पक्राउ गरिरहेको छ। तर, तयारी गहना तस्कर भएको हाल पाइएको छैन,’ प्रहरी प्रवक्ता घिमिरे बताउँछन्, ‘बरु नेपालबाट भारतीयले गहना बनाएर लैजाने गरेको पाइन्छ।’
शुद्धता बढी भएको छापावाला सुनको प्रचलन बढी हुने र जर्ती जडान नेपालमा कम गर्ने हुँदा सीमा क्षेत्रमा भारतीयले लगाउने गहनासमेत नेपालमै आएर बनाउने उनको भनाइ हो।
यस्तै, भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी किशोर बर्तौलाका अनुसार हालसम्म भन्सार विभागले भारतबाट भन्सार छली गरेर गहना ल्याएको भेटेको छैन। ‘काँचो सुनको भन्सार छली समय-समयमा आउने विषय हो तर, तायारी सुनका गहना भन्सार छलेर आएको अनुसन्धानमा पाइएको छैन भने भारतबाटै गहना आउने विषय पनि धेरै पाइँदैन,’ उनले भने।
त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार नाकामार्फत समेत तयारी गहना व्यक्तिगत प्रयोजनमा तोकिएको सीमा महिलालाई ५० ग्राम र पुरुषलाई २५ ग्रामबाहेक व्यवसायी प्रयोजनमा हुने गरी तयारी गहना भित्र्याइएका घटना नभएको सूचना अधिकारी बाबुराम घिमिरेले जानकारी दिए।
नेपालमा खुला सीमाको फाइदा उठाएर सुन गहना तस्करी गर्ने प्रवृत्तिमा प्रहरी र भन्सार प्रशासनले कडाइ गरेसँगै यस्तो व्यापार हुने सम्भावना न्यून रहेको छ।
भारतबाट तयारी सुनको गहना ल्याउँदा नेपालमा कुल कर भार करिब ३० प्रतिशत पर्छ। यसमा १२ भन्सार शुल्क, १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र २ प्रतिशत (प्रतिकारोबार) विलाशिता शुल्क लाग्छ। कानुनी ढंगले तयारी गहना ल्याएर बेच्नुपर्ने व्यवसायीले सो कर बोक्नुपर्छ। यस्तो अवस्थामा भारतको तुलनामा नेपाली बजारमा प्रतिस्पर्धा गर्न सजिलो हुँदैन।
भारतबाट तयारी गहना ल्याउने भनेको ग्राहकले विशेष अर्डर दिएको अवस्थामा मात्रै हाे। जस्तै, कुनै परम्परागत बंगाली वा दक्षिण भारतीय डिजाइन, जुन नेपालमा पाइँदैन वा बनाउन कठिन हुन्छ। अन्यथा नेपालमै चाहिने जति डिजाइन बनाउन सकिने अवस्था छ।
नेपालमा खुला सिमानाको फाइदा उठाएर सुन गहना तस्करी गर्ने प्रवृत्तिमा प्रहरी र भन्सार प्रशासनले कडाइ गरेसँगै यस्तो व्यापार हुने सम्भावना ज्यादै न्यून छ। सरकारले लागू गरेको नयाँ नीति, जहाँ पर्यटकले निर्धारण गरिएको सीमाभन्दा बढी गहना ल्याए विमानस्थलमै राखेर फर्किंदा मात्रै फिर्ता पाउने प्रावधानले अझ कडाइ गरेको छ।
भारतबाट तयारी सुनका गहना ल्याएर नेपालमा व्यापार गर्न अब न फाइदाजनक छ, न त सहज। नेपालमै बढ्दो प्रविधि, दक्ष कारिगरको उपलब्धता, कानुनी कडाइ र ग्राहकको फरक प्राथमिकताले यस्तो व्यापारलाई सीमित बनाएको छ। त्यसमाथि ग्राहक पनि स्थानीय उत्पादनतर्फ आकर्षित छन्, जसले भारतबाट गहना ल्याएर व्यापार गर्ने सम्भावना थप कमजोर बनाएको छ।
नेपालमै डिजाइनयुक्त गहना उत्पादन म्भाव्यता
पछिल्लो दशकमा नेपालमा सुनचाँदी उद्योगमा ठूलो प्रगति भएको छ। काठमाडौं, धरान, पोखरा, बुटवलजस्ता सहरमा अत्याधुनिक उपकरणसहितको गहना उद्योग खुलेका छन्। दक्ष कारिगर, डिजाइन सफ्टवेयर र कस्टम अर्डर सुविधाका कारण नेपाली उपभोक्ताले यहाँ नै आफ्नो रुचिअनुसारका गहना बनाउन सक्छन्।
विशेषगरी सुनका तयारी गहना गैरकानुनी कारोबार (तस्करी) को सम्भव बढेको सरोकारवालामा चिन्ता छ। तर, के साँच्चै भारतबाट नेपालमा गहना तस्करी सम्भव छ त?
नेपालमा उत्पादन लागत तुलनात्मक रूपमा कम छ र सोझै उपभोक्तामा बिक्री गर्न मिल्ने हुँदा खुद्रा व्यापारीका लागि फाइदाजनक हुन्छ। यस्तो अवस्थामा भारतबाट आयात गरी तस्करीको जोखिम मोल्नुपर्ने अवस्था छैन। त्यसैले भारतबाट नेपालमा तयारी गहना तस्करी गर्नु अब सम्भव छैन भन्ने प्रष्ट देखिन्छ।
उच्च भन्सार दर, गुणस्तरको ह्रास, नेपालमै गुणस्तरीय गहना उत्पादनको सहजता र पर्यटकलाई लक्षित सख्त नीतिका कारण गहना तस्करी सम्भावना शून्य अवस्थामा पुगेको छ। बरु, सरकारले सुनचाँदी उद्योगलाई प्रवर्दधन गर्दै निर्यातमुखी रणनीति अवलम्बन गर्नु दीर्घकालीन लाभदायक हुने देखिन्छ।